१४ बैशाख २०८१, शुक्रबार

चार वर्ष अघिको नतिजालाई दोहोर्याउँदै रियल मड्रिडले उचाल्यो च्याम्पियन्स लिग उपाधि

real 2

रियल मड्रिडले च्याम्पियन्स लिगमा कीर्तिमानी १४औं उपाधि जितेको छ । शनिबार राति फ्रान्सकाे राजधानी पेरिसमा भएको खेलमा चार वर्ष अघिको फाइनलमा निकालेको नतिजालाई दोहोर्याउँदै उपाधि जितेको हो । युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा चार वर्षअघि २०१८ मा पनि रियलले फाइनलमा लिभरपुललाई ३-१ को नतिजामा निराश पारेको थियो ।

पाँच सिजनमा तेस्रो पटक च्याम्पियन्स लिग फाइनल खेलिरहेको लिभरपुललाई अर्को एउटा निराशा चखाउने क्रममा रियलले गए राति पेरिसमा १-० को विजयी नतिजा निकाल्यो ।

५९औं मिनेटमा फेडेरिको भाल्भेर्डेको क्रसलाई गोलमा परिणत गर्दै भिनिसियर जुनियरले रियलको जितको कथा रचेका थिए । भिनिसियर जुनियरको जारी सिजनको च्याम्पियन्स लिगमा यो चौथो गोल हो ।

च्याम्पियन्स लिग फाइनलमा गोल गर्ने सन २००० यता जन्मिएको पहिलो खेलाडी बन्ने कीर्तिमान पनि भिनिसियर जुनियरले यो गोलसँगै आफ्नो नाममा लेखाए । यसैगरी, रियालका प्रशिक्षक कार्लो एन्सेलोट्टी पनि प्रशिक्षकका रुपमा चार पटक उपाधि जित्ने एकमात्र प्रशिक्षक बन्न सफल भए ।

चार वर्षअघि किभमा भएको फाइनलमा भोगेको हारको बदला लिने लिभरपुलको उद्देश्य असफल भएपछि योर्गान क्लोपको टोलीको सातौं च्याम्पियन्स लिग उपाधि जित्ने प्रतिक्षा थप समयका लागि लम्बिएको छ ।

च्याम्पियन्स लिगको इतिहासमा रियलले सर्वाधिक १४ पटक उपाधि जितेको छ भने सात पटक उपाधि जितेको इटालियन महारथी एसी मिलान दोस्रो स्थानमा छ ।

रियलका गोलकिपर थियाबाउट कोर्टवाले ९ वटा खतरनाक आक्रमणमा पर्खाल झै बनेर पोष्ट सुरक्षामा सफल हुँदा लिभरपुल हकलाग्दो जितबाट विमुख भएको थियो । जसका कारण घरेलु लिग कप र एफए कप जितिसकेको लिभरपुल एकै सिजनमा तीन उपाधि जित्ने कीर्तिमान बनाउनबाट पनि चुक्यो ।

पहिलो हाफ हुन एक मिनेट बाँकी रहँदा उच्च फर्ममा रहेका रियलका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले गरेको गोलले अफसाइड पाउँदा स्पेनिस टोली सुरुवाती अग्रताबाट बिमुख भएको थियो ।

सुरक्षाको कारण देखाउँदै निर्धारित समयभन्दा आधा घण्टा ढिलो गरी सुरु भएको खेलमा लिभरपुलका मोहम्मद सालाहका दुई प्रहार विपक्षी गोलकिपर कोर्टवाले उत्कृष्ट बचाउ गरेका थिए ।

यसैगरी, १७औं मिनेटमै साडियो मानेको प्रहार पोष्टमा लागेर फर्किँदा कोर्टवाले नै बचाएका थिए । यसैगरी ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, लुइस डियाज, थियागो अल्कान्टारा, फाबिन्हो र जोर्डन हेन्डरसनका प्रहार पनि रियालका गोलकिपर कोर्टवालाई पार गर्न सफल भएनन् ।