१६ चैत्र २०८०, शुक्रबार

जनप्रतिनिधिलाई ५ वर्ष लाल सिपाहीको रूपमा खडा हुन आग्रह

khagraj adhikari
फाइल फोटो

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले पार्टीभित्रकै अन्तर्घातले चुनाव हारेको स्वीकारेका छन् । 

पोखरामा उपमेयरसहितका नव निर्वाचित जनप्रतिनिधिको विजयी र्‍यालीलाई सम्बोधन गर्दै उनले भने, ‘सामाजिक सञ्जालमा हाम्रा साथीहरूको कमेण्ट हेरेको छु । तपाईंहरूसँग शिर निहुरार्‍याएर निवेदन गर्न चाहन्छु, हामीले जुन सफलता प्राप्त गर्न सकेनौँ त्यो हाम्रै कारण हो । कास्की जिल्लाको मतदाता, पार्टी स्थायी कमिटी सदस्यको हैसियतले मैले जे गर्नुपर्ने हो त्यो गरेँ । तर नेतृत्व तहबाटै कमीकमजोरी बाँकी रहे । त्यसमा आत्मआलोचित हुँदै आगामी दिनमा ती कमजोरी नदोहोर्‍याउने बाचा गर्दछु ।’

पोखराको मेयर पराजित हुनुमा उनै अधिकारी र उपमहासचिव पृथ्वीसुब्बा गुरुङको गुटगत प्रतिस्पर्धालाई लिइन्छ । उनले निर्वाचित भएका जनप्रतिनिधिलाई ५ वर्ष लाल सिपाहीको रूपमा खडा हुन आग्रह गरे । ‘जो निर्वाचित हुनुभयो, तपाईँहरूले एकजुट भएर ५ वर्ष एमालेको नीति बाहिर गएर पोखरालाई तस्करको पन्जामा नगरपालिका लान कसैले चाहन्छ भने हाम्रा ८६ जना सिपाही खडा हुनेछन् । जवाफ दिनेछन् एमालेको अभियान पोखरा बनाउने हो भनेर,’ उनले भने, ‘तपाईँहरू सबैजना ५ वर्षको मोर्चामा खटिनुहुनेछ ।’

उनले वडा नम्बर १८ र ३१ मा जालसाजी गरेर आफ्ना उम्मेदवारलाई हराइएको आरोप लगाएका छन् । ‘जालसाजी गरेर वडा नम्बर ३१ र १८ मा मतपत्र लुकाएर हामीलाई हराइएको नाटक गरिएको छ । हामी युद्ध मैदानमा फेरि खडा हुनेछौं । हाम्रा मतपत्र जानीजानी लुकाइएको छ,’ भन्छन्, ‘कर्मचारी साथीहरूलाई भन्न चाहान्छौं, तपाईं इमानदार बनेर कसैले १ सिट जित्दैमा त्यसको जीत ठानेर एमालेलाई मिनिमाइज गर्नुभयो । यो हिसाबकिताब एमालेले राखिरहन्छ ।’

उनले गठबन्धनलाई लुटपाट र घुसपैठ गरेर चुनाव जितेको आरोप लगाए । ‘तथाकथित लुटपाट गरेर, घुसपैठ गरेर, एमालेलाई कमजोर पार्ने कोशिसका साथ जितेका भए पनि अरू पदाधिकारीले एमाले बेगर चल्ने दुष्साहस नगरे हुन्छ । हामी लडाईंको मोर्चामा छौं,’ अधिकारीले भने ।