१६ चैत्र २०८०, शुक्रबार

दिग्गज नेताहरूले आफ्नै पालिका गुमाए

bheda 1

बैतडी जिल्ला सदरमुकामको दशरथचन्द नगरपालिका यसअघि नेपाली कांग्रेसको गढका रुपमा चिनिन्थ्यो । यो नगरपालिका वर्तमान कांग्रेस जिल्ला सभापति चतुरबहादुर चन्द, पूर्व सभापति तथा पूर्व मन्त्री नरबहादुर चन्द, विनयध्वज चन्द, नरेन्द्रसिंह थापा, शिवराज भट्टलगायत केही दिग्गज नेताहरूको नगरपालिका हो ।

नगरपालिकामा २०७४ मा समेत कांग्रेसले चुनाव जित्दै पूर्ण बहुमत ल्याएको थियो । तर, अहिले भने कांग्रेस उपमेयर र ४ वडामा सीमित छ । अहिले दशरथचन्द नगरपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ । एमालेले नगर प्रमुखसहित ७ वडा जितेको छ ।

यसैगरी जिल्लाको दोश्रो सहर (मध्यपहाडी लोक मार्गको नमुना सहर) समेत रहेको पाटन नगरपालिका नेकपा एमालेबाट निर्वाचित प्रतिनिधि सभा सांसद, पूर्व मन्त्री तथा एमालेका सुदुरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीको नगरपालिका हो । यस नगरपालिकामा एमाले हारेको छ । सत्ता साझेदार गठबन्धनले यस नगरपालिकामा ६ वडासहित मेयर र उपमेयरमा विजय हासिल गर्दा एमाले ४ वडामा सीमित छ । नेकपा एमालेका केन्द्रिय सदस्य तथा पार्टी जिल्ला इन्चार्ज पुरनसिंह दयालको नगरपालिका मेलौलीमा एमाले पराजित भएको छ । यहाँ नेकपा माओवादी केन्द्रले प्रमुख पदमा विजय हासिल गरेको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज नरेन्द्र कुँवर (विजय सुन्दर) ले यसअघि २०७४को निर्वाचनमा जित हासिल गरेको पुर्चौडी नगरपालिका यसपालि गुमाएको छ । पुर्चौडीमा नेपाली कांग्रेसले मेयर, उपमेयरसहित स्पष्ट बहुमत ल्याएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका एमाले अध्यक्ष सुरेन्द्र पालको पालिका हो । तर, यहाँ एमालेमै रहेका युवाहरूले विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएरै विजयी भएका छन् । पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका राष्ट्रिय युवा संघका तत्कालिन प्रदेश अध्यक्ष सन्तोश जोशी विजयी भएका छन् भने, यज्ञ भट्ट, प्रकाश मणि भट्ट लगायतका युवाहरू वडामा निर्वाचित भएका छन् ।

यसअघि २०७४ मा अध्यक्ष,उपाध्यक्षसहित बहुमत वडा जितेको एमाले २ वडामा सीमित भएको छ भने उपाध्यक्षसहित २ वडा नेपाली कांग्रेसले जितेको छ । यसैगरी नेकपा (एकिकृत समाजवादी) का जिल्ला इन्चार्ज परमानन्द भट्ट र माओवादी नेता तथा प्रदेश सांसद प्रेम प्रकाश भट्ट (आदित्य)को सुर्नया गाउँपालिकामा समाजवादी पराजित भएको छ । यस पालिकामा यी दुवै दलले गठबन्धनसमेत गरेका थिए । तर, अध्यक्ष र ३ वडा एमाले–राप्रपा गठबन्धनले जित्दा ४ वडामा कांग्रेस र १ वडामा माओवादीले जित हासिल गरेको छ । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष महादेव भट्टको दशरथचन्द नगरपालिकामा पार्टीको अवस्था नाजुक देखिएको छ । यो नगरपालिका पूर्व प्रदेशमन्त्रीसमेत रहेकी एकिकृत समाजवादी नेतृ माया भट्टको नगरपालिका समेत हो । एकिकृत समाजवादीले जिल्लाका एउटै वडामा समेत विजय हासिल गरेको छैन ।

तर, नेकपा एमालेका केन्द्रिय सदस्य तथा बैतडी जिल्ला सह–इन्चार्ज लिलाधर भट्टको दोगडाकेदार गाउँपालिकामा भने नेकपा एमालेले विजय हासिल गरेको छ । ८ वडा रहेको यस पालिकामा ६ वडासहित अध्यक्ष,उपाध्यक्ष एमालेले जितेको छ । जिल्ला उपसभापति खगेन्द्र धामीको सिगास गाउँपालिकामा कांग्रेसले विजय हासिल गरेको छ । पञ्चेश्वरमा एमालेका प्रमुख नेता गोरख बहादुर चन्द रहेकोमा त्यहाँ एमालेले अध्यक्ष,उपाध्यक्षसहित बहुमत वडामा जित हासिल गरेको छ । शिवनाथमा कांग्रेस प्रदेश सदस्य तेज बहादुर चन्द तथा युवा नेता कर्ण साउदको पालिकामा कर्ण साउद स्वयंम अध्यक्ष बनेका छन् ।

माओवादी केन्द्रका प्रमुख नेता आफै रहेको मेलौलीमा भिम बहादुर चन्दले मेयरमा विजय हासिल गरेका छन् । पाटनमा कांग्रेस–माओवादी गठबन्धनको विजय भएको छ । माओवादी केन्द्रका जिल्ला संयोजकको पाटनमा युवा नेता कमल बोहरा नगर उपप्रमुखमा विजय हुदाँ वडा न १, ८ र ९ मासमेत माओवादीले विजय हासिल गरेको छ । बैतडीमा टिकट वितरणमा कमजोरी भएका कारणले ठूला नेता आफ्नो पार्टीलाई जिताउन असफल भएको चर्चा सुनिन्छ । केही पालिकामा भने पार्टीको संगठन कमजोर र आफ्नै भनिएका मतदातालाई जोगाउन नसक्दा हार व्यहोरेको प्रष्ट देखिन्छ । तर, पार्टी नेताहरूले भने आफू निकटका व्यक्तिलाई टिकट दिएकाले हारेको स्वीकार गर्दैनन् । जिल्लाका ४ पालिकामा एमाले, ४ मा कांग्रेस, एउटामा माओवादी केन्द्र र एउटामा स्वतन्त्रले प्रमुख पदमा विजय हासिल गरेका छन् ।