२० बैशाख २०८१, बिहीबार

कोरोना नियन्त्रणमा उत्कृष्ट काम गर्ने पाँच महिलामा नेपालकी रुना झा पनि

runa jha

कोरोना भाइरस (कोभिड१९)को नियन्त्रणमा अग्रस्थानमा रहेर काम गर्ने उत्कृष्ट ५ महिलामा नेपालकी डा रुना झा पनि परेकी छिन्।

संयुक्त राष्ट्रसंघको यूएन वुमेनले कोरोना भाइरस नियन्त्रणका अग्रस्थानमा रहेर काम गरिरहेको ५ महिलाको सूचीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा झालाई राखेको हो। 

यूएन वुमेनले पाँच जनाको विषयमा लेखेको जानकारीमा प्रयोगशालाकी निर्देशक डा झाको कथा पनि समावेश गरेको छ। युनएन वुमेनले ‘कोभिड रेसपोन्समा फ्रन्टलाइनमा काम गर्ने ५ महिला’ को सूचीमा नेपालकी डा झाको नाम सहितको विवरण उल्लेख गरेको हो।

सो रिपोर्टमा कोभिड-१९ को सुरुवात भएसँगै विश्वभरका महिला र केटीहरुको जीवनमा विभिन्न खाले चुनौति आइरहेको समेत उल्लेख गरेको छ। सयौं चुनौतिका बावजुत विश्वभरका लाखौं महिला कोभिड-१९ को नियन्त्रणका लागि अग्रस्थान रहेर जिम्मेवारी निभाइरहेको भन्दै युएन वुमेनले उनीहरुले गरेको  सेवाका लागि धन्यवाद दिएको छ। ती धेरै महिलाले स्वास्थ्यकर्मी र सामाजिक कार्यकर्ताका रुपमा काम गरिरहेका छन्।

कोभिड-१९ का पाँच महिलाको कथामा नेपाली रुना झाले कोरोना भाइरस परीक्षणमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको विवरण उल्लेख छ।

यूएन वुमेनले भनेको छ,‘उनी र उनको टीमले  दैनिक रुपमा करिब ७० ओटा नमुना परीक्षण गर्ने गर्छन्। दैनिक अनिश्चित संख्यामा नमुना आउने कारण ढिलासम्म ल्यावमा बसेकी छिन्।’ 

प्राविधिक कामसँगै आफ्ना स्टाफको यातायात र खानेकुराको व्यवस्थापन पनि गर्नुपर्ने जिम्मेवारी उनलाई छ।

फेबुु्रअरीको मध्य तिर चीनको वुहानबाट नेपाल सरकारले १७५ जनाको उद्दार गरी ल्याएपछि उनी र उनका स्टाफको टोलीको व्यवस्ता बढेको छ। उनी आफ्ना सहयोगी टीमको सुरक्षा प्राथमिकतामा भएको बताउँछिन्। 

वुहानबाट उद्दार गरी क्वारेन्टाइनमा राखिएका १७५ जनाको नमुना रातभरी संकलन गरी भोली पल्ट सबैको रिपोर्ट तयार पारिएको डा रुना बताउँछिन्।

नेपालमा संक्रमितको संख्या बढेपछि उनीको व्यस्तता पनि बढेको छ। उनी भन्छिन,‘यो हाम्रो लागि चुनौतिपूर्ण समय हो। म उनीहरुको मनोबल बढाउने प्रयास गरिरहेको हुन्छ। उनीहरुको सुरक्षा पहिलो प्राथमिकतामा छ भनेर पनि सम्झाइरहेको हुन्छु।’

संक्रमणको जोखिममा परिवारमा नपरोस् भनेर उनी अलग्गै बस्छिन्। श्रीमान् र छोरीसँग हप्तौँदेखि भेटेकी छैनन्। हप्ताको तीन पटक भेट्न पुग्ने आमाबुवालाई उनले लामो समयदेखि भेट्न पाएकी छैनन्। जागिर र जिम्मेवारीबिच उनले परिवारलाई जोखिमबाट जोगाउने जिम्मेवारी पनि पुरा गर्नुपरेको छ।

उनी भन्छिन्,‘ म मेरी छोरीलाई भेटेर अगाँल्न चाहन्छु। बुवाआमाको हेरचाह गर्न चाहन्छु तर उहाँ र अरुलाई सुरक्षित राख्न मैले मेरा इच्छासँग सम्झौता गर्नैपर्छ।’

डा रुना बाहेक विश्वका यी चार महिलाले पनि कोभिड-१९ को फ्रन्टलाइनमा बसेर जिम्मेवारी निर्वाह गरिरहेका छन्।

अरू को-को छन् सूचीमा ?

१. जोर्डनमा नयाँ प्रविधिको प्रयोग

अमल अल महाईराह र महाडील दबाइबेह यो महामारी नियन्त्रणका काममा निकै चिनिएका छन् । यूएन वुमेनको फिल्ड सहायकको रुपमा काम गरिरहेका उनीहरूले जोर्डनका महिलाहरूलाई र सिरियाली शरणार्थीको जीवनरक्षाको लागि सेवा प्रदान गर्दै आएका छन्।

यद्यपि कोरोना भाइरसले उनीहरूलाई घरको झन् धेरै नजिक ल्याएको छ । उनीहरू मोबाइल फोनको भरमा समुदायलाई महत्वपूर्ण जानकारी र अन्य परामर्श दिने गर्छन् । जोर्डनको एइन अलबाइडामा बस्ने ५४ वर्षीया सिहाम अलकाटामिन मोबाइल फोनको माध्यमबाट अमलले आवश्यक परामर्श र मनोवैज्ञानिक सहयोगका साथै विश्वसनीय सूचनाहरू दिने गरेको बताउँछिन् ।

यूएन वुमनका फिल्ड कर्मचारीहरूले यहाँका आठ सयभन्दा धेरै मानिसलाई यस्तो सेवा दिँदै आएका छन् । महामारीको क्रममा समस्यामा परेका महिलालाई सेवा दिन डिटिजल प्रविधि आवश्यक देखिएको छ ।

अहिले लैङ्गिक हिंसाको सामना गरिरहेका महिलाको लागि २४ घण्टा उपलब्ध हुने हटलाइन सेवा प्रदान गरिएको छ । यूएन वुमेनले सिरियाली शरणार्थीको लागि प्रदान गर्ने कोषको निरन्तरताको लागि ब्लकचेन नगद वितरण प्रणाली सुरु गरेको छ ।

प्रत्येक शरणार्थीको खाता ब्लकचेनसँग लिङ्क गरिएको हुन्छ । यसलाई सुपरमार्केटहरूमा विश्व खाद्य कार्यक्रमअन्तर्गत स्थापना गरिएको आयरिस स्क्यानिङ प्रणालीमा कनेक्ट गरिएको हुन्छ । जसबाट शरणार्थीहरूले आफूलाई चाहिएको सामग्री विनाझन्झट खरिद गर्न सक्नेछन् ।

२. चीनको ग्रामीण क्षेत्रमा सार्वजनिक सेवा प्रदान

यान शेङ्लियान चीनको उत्तरपश्चिमी प्रान्त क्विङहाई प्रान्तको सियारुओयाओ गाउँको चेकप्वाइन्टमा बस्छिन्। उनी गाउँमा आउने र जाने मानिसको शरीरको तापमान नाप्छिन् र उनीहरूको सवारीसाधनको विवरण राख्छिन् । उनको यो काम कोरोना भाइरस नियन्त्रणको लागि निकै महत्वपूर्ण छ । तर, उनको लागि यो काम नौलो हो । उनी चिकित्सा क्षेत्रको पृष्ठभूमिबाट आएकी होइनन् । उनी पेशाले एक किसान हुन् । उनले सुँगुर पालन गर्दै आएकी थिइन् ।

यद्यपि स्वयंसेवकको रुपमा अहिले उनी कोरोना भाइरस नियन्त्रणको काम गर्दै आएकी छिन् । किसान र स्वयंसेवक दुवै क्षेत्रमा उनले निकै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकी छिन् ।

३. काजकस्तानमा हिंसामा परेकालाई सहयोग

काजकस्तानमा क्वारेन्टाइन सुरु हुनुभन्दा पहिले नेमोल्ची (चुप नबसौँ) अभियानले सञ्चालन गरेको हेल्पलाइनमा यौन हिंसाका पीडितको मात्र फोन आउँथ्यो । अहिले दैनिक १० देखि १५ घरेलु हिंसाका उजुरीको लागि टेलिफोन आउने गरेको छ । यसरी फोन गर्नेहरू सबैजसो महिला नै छन्।

महामारीको समयमा घरेलु हिंसाका घटनाहरू उल्लेख्य रुपमा बढेका छन् । आइसोलेसनमा बसेकाकारण महिलाहरूले प्रहरीमा उजुरी दिन पनि सक्दैनन् ।

अझ कुनै परिवारमा त सासूससुरा र अन्य नातेदार पनि एउटै घरमा बस्छन् । त्यसैले पनि उनीहरूले प्रहरीमा सकेसम्म उजुरी गर्दैनन् । नेमोल्चिकी नेतृ डिना स्माइलोभाका अनुसार कोरोना भाइरसको कारण अभियान प्रभावित बनेको बताउँछिन्।

नोमोल्चिले अहिलेसम्म एक सय २० पीडित महिलालाई कानुनी सहयोग गरिसकेको छ । स्माइलोभाका अनुसार अहिले क्वारेन्टाइनको समयमा अदालत खुल्दैन, मुद्दा पनि दायर हुँदैन, अहिले पीडक र पीडित एउटै घरमा बस्ने भएकाले जोखिम बढेको छ ।

यद्यपि स्माइलोभाले निरन्तर न्यायको लागि आफ्नो प्रयास भने जारी राखेकी छिन् ।

४. क्यारेबियन समुदायको आशा जीवित राख्ने प्रयास

र्‍याङ्किया हेनरी क्यालिफोर्नियाको एक होटलमा काम गर्थिन् । कोरोना भाइरसको कारण उनको होटल बन्द भयो र उनी आफ्नो घर फर्किन पनि पाइनन् ।

यस्तोमा उनलाई आर्थिक समस्याले पनि पिरोल्न थालेको थियो । उनलाई आफ्नो घरमा पैसा पठाउनुपर्ने तनाव छँदै थियो, अब विनातलब आफ्नो घर्च धान्नु पर्ने समस्या पनि आइलाग्यो । तर, उनले यस्तो अवस्थामा पनि आफ्नो घरमा केही रकम पठाइन् ।

उनको चिन्ता यत्तिकैमा सीमित भएन । उनलाई आफ्नो घर रहेको टापु एन्टिगुआको माया लागेर आयो । आफ्नो देशमा मानिसहरू विश्वभर फैलिएको यो महामारीमा कसरी सुरक्षित रहलान् भन्ने चिन्ता उनमा पर्‍यो ।

यो चिन्तासँगै उनले कोरोना भाइरस नियन्त्रणको लागि सहयोगी हुने म्यासेज सामाजिक सञ्जालमार्फत सेयर गर्न थालिन् । साथै उनले एन्टिगुआ र बर्बुडाको सेवा क्षेत्रसँग पनि समन्वय गरिरहेकी छिन् ।

    सम्बन्धित समाचार...