३१ बैशाख २०८१, सोमबार

कटारी गोलीकाण्ड: दोषीलाई कारवाही र पिडितलाई क्षतिपूर्तिको निर्णय

Gopa Photo

मतदानका दिन शुक्रबार उदयपुरको कटारी नगरपालिका–१० मा एक जनाको ज्यान जानेगरी फायर खोल्ने प्रहरीमाथि छानविन गरी दोषीलाई निलम्बनसहितको कारवाही अगाडी बढाउने भएको छ ।

घटनाको विषयलाई लिएर कटारीमा आज भएको सर्बदलिय, सर्वपक्षीय वैठकले यस्तो निर्णय गरेको हो । गोली लागी स्थानीय बीरबहादुर कटुवालको मृत्यु भएको थियो भने स्थानीय मोहनबहादुर श्रेष्ठ गोली लागी घाइते हुनुभएको थियो ।

घटनामा सुरक्षाकर्मी समेत घाइते भएका थिए । घटनाको छानविन गर्न यथासिघ्र छानविन आयोग बनाउने र दोषीलाई कारवाही प्रकृया अघि बटाउन गृहमन्त्रालयलाई लेखि पठाउने निर्णय भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलका अनुसार मृतकलाई सहिद घोषणा गर्न र उनको परिवारलाई उचित क्षतिपूर्ती उपलब्ध गराउन सम्बन्धित निकायमा लेखि पठाउने निर्णय पनि भएको छ ।

साथै घाइते स्थानीय श्रेष्ठ र प्रहरीलाई उपचार खर्च तथा उचित क्षतिपूर्ती नेपाल सरकारद्वारा उपलब्ध गराउन लेखि पठाउने निर्णय गरिएको छ । निर्वाचन आयोगको निर्देशन बमोजिम निष्पक्षरुपमा निर्वाचनको बाँकी काम निर्वाचन अधिकृतले अघि बढाउने निर्णय भएको छ । छलफलमा पिडितको पक्षबाट सुरक्षा प्रमुखहरुलाई स्थलगत रुपमै घटनाको अवलोकन गरी छानविनको माग राखिएको नेकपाका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले बताउनुभयो ।