१२ बैशाख २०८१, बुधबार

प्रतिष्पर्धी देखिइसकेका पोखरेलको किन लाग्यो अन्तिम खुड्किलोमा ब्रेक ?

bishow

नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलले एसएसपीबाट एआइजीसम्मको बढुवामा ठूलै छलाङ मार्न सकेका थिए । उनले एआइजी बढुवा हुँदा दरबन्दी नै सृजना गरी बाजी मार्न सकेका थिए ।

शैलेश थापा क्षेत्री आइजीपीमा बढुवा हुँदा विश्वराज पोखरेल पनि प्रतिष्पर्धी देखिइसकेका थिए । तर, अघिल्लो ब्याचीलाई रोकेर पोखरेललाई बनाउने विषयमा तत्कालीन सरकार तयार भएन । तर, सुशील भण्डारीको दुर्घटनामा निधन भई रिक्त डिआइजी पदमा बढुवा हुँदा उनले दुई ब्याचलाई उछिन्न सकेका थिए । ठाकुर ज्ञवाली र शैलेश थापाको ब्याची कतिपय एसएसपीहरुलाई उछिनेर पोखरेल डिआइजीमा बढुवा भए ।

डिआइजी बढुवा ६ महिनासम्म रोकियो । त्यतिबेला तत्कालीन आइजीपी सर्वेन्द्र खनालका ब्याची थिए वीरेन्द्र श्रेष्ठ । उनलाई समेत एसएसपीमै घर जानुपरेको थियो । त्यसपछि बढाइएको बढुवा प्रक्रियामा पोखरेलले छलाङ मारेका थिए ।

शैलेश थापा आइजीपीमा बढुवा भएपछि तीन एआइजीको दरबन्दीमा हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्कीको बढुवा भयो ।

त्यसबेला पनि पोखरेलले बढुवाको प्रयास गरेका थिए । तर, आइजीपी शैलेश थापा क्षेत्रीले कार्कीका लागि अडान लिंदा पोखरेल रोक्किए ।

बढुवामा नपरेका पोखरेलले एआइजीको दरबन्दी सृजना गराउने सफलता हासिल गरे । त्यतिबेला उनले आइजीपी थापाका ब्याची डिआइजीहरुलाई उछिनेर छलाङ मारे । आफूभन्दा जुनियर ब्याचका एआइजीलाई सलाम ठोक्ने अवस्थामा पुगे डिआइजीहरु । पोखरेल आइजीपीको निश्चित दाबेदार देखिए । एकपछि अर्को छलाङ मार्दै पोखरेल एआइजी बने । तर, उनलाई फेरि नयाँ चुनौती बन्यो ।

तत्कालीन केपी शर्मा ओली सरकारले सहकुल थापालाई एआइजीमा दरबन्दी सृजना गरी बढुवा गर्यो । थापालाई पोखरेलको मुख्य प्रतिष्पर्धी बनायो । त्यसपछि दुईमध्ये एक आइजीपी बन्ने अनुमान गरियो ।

तर, शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि २०७८ चैत्रमा एआइजीको तीन दरबन्दी सृजना गरी धीरजप्रताप सिंह, रवीन्द्र धानुक र वसन्त पन्तको बढुवा भयो । पन्त आइजीपी शैलेश थापाका ब्याची भएकाले १९ वैशाखमा सेवानिवृत्त हुने नै थिए । सिंह र धानुक आइजीपीका प्रतिष्पर्धी बने ।

नेपाल प्रहरीको सबैभन्दा उपल्लो पदमा पुग्ने बेलामा भने पोखरेलमाथि एकपछि अर्को चुनौती थपियो । उनका लागि वरियतामा दोस्रो एआइजी सहकुल थापाभन्दा तेस्रो वरियताका धीरजप्रताप सिंहको चुनौती बढेको थियो । सिंह इन्स्पेक्टर हुँदा पहिलो नम्बरमा, डिएसपी र एसपी हुँदा पहिलो नम्बरमा थिए । अघिल्लो सरकारको पालामा पोखरेलले एकपछि अर्को छलाङ मारेका थिए । यही बुझेका प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरेललाई बढुवा गर्न चाहेनन् ।

सिंहको विगतका मूल्यांकनहरु सकारात्मक थिए । एसपीसँग नम्बर एक नै रहेको र त्यसपछि बढुवामै रोकिएको घटनाहरु थिए । सीआइबीको कमाण्ड सम्हाल्दा उनले देउवाको मन जितेका थिए । यसकारण देउवा धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णयमा पुगे । छलाङ मार्दै दुई ब्याचलाई उछिनेर एआइजी बनेका विश्वराज पोखरेलको खुड्किलोमा ब्रेक लाग्यो ।

पोखरेल सर्वोच्च जाँदै

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ । प्रहरी महानिरीक्षकका लागि सिफारिस भएका तीन प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल भन्दा जुनियर थिए ।

पोखरेल भन्दा धिरजप्रताप सिंह १७ महिना र सहकुल थापा ८ महिना कनिष्‍ठ हुन् । पोखरेलले सिंह र थापालाई दर्ज्यानी प्रदान गरेका थिए । पोखरेलको पदावधि एक वर्ष अझै बाँकी छ ।

क्षेत्रगत र जातिगतका आधारमा कारबाहीको सिफारिसमा परेकालाई महानिरीक्षक बनाएकाले पोखरेल निकट स्रोतले बताएको छ । स्रोतले भन्यो,’ अन्यायमा परेकाले न्याय खोजिन्छ । पञ्चायत कालमा पनि अन्यायपूर्ण निर्णय कहिले भएको थिएन । अदालत खुलेपछि न्यायका लागि ढोका ढकढक्याइन्छ ।’

सँगसँगै नियुक्त भएका आइजीपीहरूको पनि प्रतिष्पर्धा हुने गरेको थियो ।