८ बैशाख २०८१, शनिबार

फेरि बढेर आयो इन्धनको मूल्य, निगमको मासिक १० अर्ब रुपैयाँ घाटा

Nepal Oil NOC

भारतीय आयल कर्पोरेसन (आइओसीले) नेपालका लागि इन्धनको नयाँ मूल्य पठाएको छ।

नेपाल आयल निगमले आइतबार विज्ञप्ति जारी गर्दै आइओसीले नयाँ मूल्य पठाएको जानकारी दिएको हो। नयाँ मूल्यबारे भने निगमले विज्ञप्तिमा उल्लेख गरेको छैन।

त्यस्तै भारतले नयाँ मूल्यसूची पठाए पनि नेपालमा इन्धनको मूल्य हेरफेर हुन्छ कि हुँदैन भन्नेबारे पनि अहिलेसम्म निगमले जानकारी दिएको छैन।

विज्ञप्तिका अनुसार आइओसीले नयाँ मूल्य पठाएसँगै निगमलाई आगामी १५ दिनमा करिब पाँच अर्ब १९ करोड रूपैयाँ घाटा हुने देखिएको छ।

आइओसीले पठाएको मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर २३।०२ रूपैयाँ र डिजेलमा ४०.१३ रूपैयाँ घाटा हुने देखिएको छ। हाल पेट्रोल लिटरको एक सय ६० र डिजेल एक सय ४३ रूपैयाँमा बिक्री भइरहेको छ।

वैशाख १८ गतेको नयाँ मूल्यअनुसार निगमलाई पेट्रोल खरिद लागत भने १८३।०२ रूपैयाँ र डिजेलको १८३.१३ रूपैयाँ पर्छ।

त्यस्तै प्रतिसिलिन्डर एक हजार ६ सयमा बिक्री भइरहेको खाना पकाउने एलपी ग्यासमा निगमलाई एक हजार पचास रूपैयाँ १८ पैसा घाटा हुने निगमले जनाएको छ। ग्यासको खरिद लागत २६५०.१८ रूपैयाँ छ।

यसअघि वैशाख ३ गते आइओसीले पठाएको भन्दा आइतबारको मूल्यमा निगमलाई पेट्रोल र डिजेलमा घाटा बढेको देखिएको छ। त्यस्तै एलपी ग्यासमा पनि घाटा बढेको छ।

निगमलाई मट्टीतेल, हवाई इन्धनमा भने नाफा छ। मट्टीतेलमा लिटरको २.८१ रूपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ १२.६४ रूपैयाँ र बाह्यतर्फ ६४.६९ रूपैयाँ नाफा रहेको निगमले जनाएको छ।

मट्टीतेल र हवाई इन्धनको नाफा पनि वैशाख ३ को तुलनामा कम भएको छ। अब मट्टीतेलको खरिद लागत १४०.१९ रूपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फको १४३.३६ रूपैयाँ र बाह्यतर्फको १२३.७८ रूपैयाँ रहेको विज्ञप्तिमा उल्लेख छ।

वैशाख ३ को मूल्यअनुसार निगमलाई १५ दिनमा करिब तीन अर्ब ७४ करोड रूपैयाँ घाटा हुने देखिएको थियो। वैशाख १८ गते आइतबार नयाँ मूल्य आएसँगै अब घाटा पाँच अर्ब नाघ्ने देखिएको निगमको विज्ञप्तिमा उल्लेख छ ।