२० बैशाख २०८१, बिहीबार

रेनु दाहालले भनिन्ः ‘पाँच वर्षमा गरेका कामको मूल्याँकन गर्नुहोस्’

renu dahal
फाइल फोटो

भरतपुर महानगरपालिकाको प्रमुख पदकी उम्मेद्वार रेनु दाहालले आफूले बितेको पाँच वर्षमा गरेको कामको मूल्याँकन गर्न अनुरोध गरेकी छन् ।

चितवनको भरतपुर आयोजित प्रतिष्ठित पेशाकर्मी एवं बुद्धिजीविहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै आइतबार अपरान्ह दाहालले त्यस्तो अनुरोध गरेकी हुन् । भरतपुर महानगरकी निवर्तमान प्रमुख एवं गठबन्धनबाट भरतपुरको साझा मेयर उम्मेद्वार रहेकी दाहालले संविधान र लोकतन्त्रको रक्षामा बुद्धिजीविको महत्वपूर्ण भूमिका हुने बताइन् ।

मुलुकमा समस्या आइपर्दै गर्दा विभिन्न कोणबाट देशलाई बचाउन आफुमा निहित बौद्धिकताको प्रयोग गर्दै आउनु हुने आम बुद्धिजीवि एवं पेशाकर्मीले आफुलाई पनि सच्चिन र राम्रो काम गर्न सल्लाह र सुझाव दिंदै आएको स्मरण गर्दै दाहालले आफु सधै जनताको गुनासाहरु समेटेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले मुलुकलाई प्रतिगमत तर्फ जाने खतराबाट जोगाउन वर्तमान गठबन्धन भएको विषयमा आम मतदातालाई सूसुचित गर्ने अभिभारा बौद्धिक समूदायको काँधमा आएको उनको भनाई थियो ।

त्यस्तै वितेको पाँच वर्षमा थालिएका कामको पूर्णता दिनको लागि गठबन्धनको जीत सुनिश्चिता गराउन पनि बुद्धिजीविको भूमिका महत्वपूर्ण हुने दाहालले बताइन् । वर्तमान गठबन्धनको बारेमा कुरा गर्दै उनले बौद्धिक जगतबाट आ–आफ्नो क्षेत्रबाट अभियान सञ्चालन आवश्यक रहेको बताइन् । उनले भनिन,“वर्तमान गठबन्धन गणतन्त्र, संविधान र परिवर्तनका पक्षधर र गणतन्त्र, संविधान र परिवर्तन विरोधीहरुको पक्षधर गरि दुई खेमामा रहेको छ । अहिले गल्ती र कमजोरी भयो भने पछि पछुताउनुको कुनै विकल्प छैन् ।”

सोही कार्यक्रममा बोल्दै उपप्रमुख पदका उम्मेद्वार चित्रसेन अधिकारीले महानगरलाई देशको मात्र नभएर एसियाकै उत्कृष्ठ महानगर बनाउन पाँच दलीय गठबन्धनको नेतृत्वले जित्न आवश्यक रहेको बताएका थिए । उनले विगतमा भएका गल्ती नदोह¥याउने गरि बौद्धिक क्षेत्रको सुझावको उचीत कदर गर्दै अगाडि बढने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्राडा देविप्रसाद कँडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै सभाध्यक्ष कँडेलले जनचेतना बढाउने र गठबन्धनको सान्दर्भिकतबारे जानकारी दिने जिम्मेवारी बौद्धिक वर्गको काँधमा आइपरेको बताएका थिए । उनले विगतको विवादलाई पर राखेर कुनैपनि भेदभाव विना गठबन्धनका सबै उम्मेद्वारलाई जिताउने गरि अगाडि बढ्नुपर्ने आवश्यकता औल्याएका थिए । उनले परिवर्तनका आन्दोलनमा सधै अग्रपंतिमा रहने बौद्धिक वर्ग यस पटक पनि त्यस्तै भूमिका निर्वाह गर्न पछि पर्न नहुने बताएका थिए ।

कार्यक्रममा डा. विजयचन्द्र आचार्यले बौद्धिक जगतको भूमिकाको बारेमा आफ्नो भनाई राखेका थिए । उक्त कार्यक्रमले यस पटकको निर्वाचनमा बौद्धिक समूदायले बौद्धिक चेतनाको लागि कार्यक्रम गर्ने, कोणसभा गर्ने, बौद्धिक बहस र अन्तरक्रिया सञ्चालन गर्ने, बैचारिक नेतृत्व प्रदान गर्ने र हामी जिताउँछौ हाम्रो गठबन्धन भन्ने नारा अनुसार अगाडि बढ्ने प्रतिवद्धता गरेको छ ।