२० बैशाख २०८१, बिहीबार

गरिबलाई रोजगार सुनिश्चित

uml logo1628521956

तपाईंको उम्मेदवारी किन ?

तुलसीपुर उपमहानगरपालिका भित्रका अपुरा विकास निर्माणको पुरा गर्न र नगरलाई सुशासनमैत्री बनाई अनि समृद्धिको मार्गमा लैजान मेरो उम्मेदवारी हो । नगरमा पर्याप्तरुपमा रहेको गरिबी हटाउन पर्याप्त रोजगारीको व्यवस्था गर्नेदेखि शिक्षा, स्वास्थ्यलगायतको पहुँच सहज गराउने मेरो पहिलो प्राथमिकतामा रहने छ ।

मत माग्न मतदाता कहाँ पुग्नुभयो ? 

अवश्य पनि । मतदातासमक्ष पहिलेदेखि नै पुगिरहेको छ । उम्मेदवारी दर्ता गरेपछि फेरि पुग्दैछु । घरदैलोमा म निर्वाचनको समयमामात्रै होइन, अन्य समयमा पनि पुग्ने भएकाले मतदाता अर्थात् नागरिकमाझ पुग्नु समस्या होइन । म लामो समयदेखि नागरिकसँगसगै छु । राजीतिक यात्रामा लागेको करिब ४० वर्ष बढी हुँदा धेरै पटक नागरिकमाझ पुगेको छु । अब साँच्चै भोट माग्नका लागि पुगिरहेको छु । 

नेतृत्वमा पुग्न मतदाताले विश्वास गर्लान् त ?

यसमा मेरो कुनै शंका छैन । मतदाताको अपार माया अनि विश्वासले नै म नेतृत्वमा आउन सक्छु भन्ने विश्वासका साथ नेतृत्वमा उम्मेदवारी दिएको हुँ । मतदाताले टिकाराम खड्का सर्वहारा नेता हो भन्ने नजिकबाट चिन्नुभएको छ । किनकि म राजनीतिसँगै सामाजिक सेवामा निरन्तर लागिरहेको छु । नागरिकका हरेक सुख दु:खसँग जोडिन पाएको छु । हरेक समस्यसँग नजिक भई समाधान गर्ने काममा म निरन्तर लागिरहेको हुँदा पनि निर्वाचनको मत परिणाम मेरो पक्षमा आउँछ भन्ने विश्वासमा छु । 

गठबन्धनसँगको प्रतिस्पर्धामा अलि बढी चुनौती होला नि ? 

म प्रतिकुलतामा रमाउने व्यक्ति हुँ । सानै उमेरदेखिको मेरो निरन्तर संघर्ष चलिरहेको छ । सानै उमेरमा बुवा आमालाई गुमाएपछि म अर्काको घरमा काम गरेको हुर्केको व्यक्ति हुँ । तैपनि म कहिल्यै हार खाएन । निरन्तर चुनौतीको पहाडलाई छिचोल्दै आएको छु । खेल हो जित/हार हुन्छ । तैपनि आम मत मेरो पक्षमा आउँछ भन्नेमा विश्वस्त छ । गठबन्धनले केही प्रभाव पार्नेवाला छैन । अब अहिलेको निर्वाचनमा पनि ३/४ दल एकातिर हुँदा नेकपा एमालेको उम्मेदवार म अर्कोतिरबाट प्रतिस्पर्धामा छु । मतदाताले व्यक्ति चिन्नुभएको छ । कसलाई मतदान गरेपछि भोलिका दिनमा सहज हुन्छ भनेर मतदाताले राम्रोसँग चिनेका कारण पनि मेरो पक्षमा मत कम आउँछ भन्ने सोचेको पनि छैन । 

मतदाताले विश्वास गर्नुभयो भने परिवर्तनको अनुभूति हुनेगरी के गर्नुहुन्छ ? 

आगामी नेतृत्व मतदाताले मलाई सुम्पिनुभयो भने मैले सुरुमा गरिबी हटाउँछु । समस्याको रूपमा रहेको गरिबीलाई हटाउनका लागि पर्याप्तमात्रामा रोजगारीको व्यवस्था गर्न मेरो विशेष पहल रहने छ । आर्थिक विकासका लागि आम नागरिकलाई स्वरोजगार बनाउने, शिक्षा, स्वास्थ्यलाई नागरिकको पहुँचमा लैजाने, सफा र सुन्दर सहर बनाउने मेरो योजना छ ।  सुशासनमैत्री नगर निर्माणदेखि कृषिको आधुनिकिकरण, उद्योग , पर्यटन लगायतसँग तुलसीपुरलाई जोडेर आम परिवर्तन हुने गरी काम गर्छु । अनि अझ विषेशत भूमिहीन सुकुम्वासीलाई लालपुर्जा दिलाउनका लागि विशेष पहल रहनेछ । सुकुम्वासीको व्यवस्थापनका लागि गठन भएको भूमि आयोग परमादेश सरकारले खारेज भएपछि अहिले त्यो मुद्दा अलपत्र छ । केपी ओली प्रधानमन्त्री अहिलेसम्म भइदिएको भए सायद धेरै भूमिहीन सुकुम्वासी नागरिकले लालपुर्जा पाइसकेका हुने थिए । तर वर्तमान सरकारले भूमिहीन नागरिकको समस्यालाई गम्भीररुपमा लिन सकेन । जसले गर्दा अहिले भूमिहीन नागरिकको समस्या अलपत्र अवस्थामा पुगेको छ । यसका लागि म स्थानीय सरकार प्रमुख जिम्मेवारी पाए भने भूमिहीन नागरिकका समस्यालाई समाधान गर्नेछु । 

नगर घाटामा छ, काम गर्न सहज होला र ? 

म के स्पष्ट पार्न चाहन्छु भने पहिलो कुरा नगर घाटामा छ भन्ने कुरा गलत हो । विकास निर्माणका काम गर्दा भुक्तानी बाँकी रहँदा त्यसलाई ऋण भन्ने हो भने त प्रदेश र संघ सरकारमा पनि यस्तो समस्या हुन्छ त, खै किन त्यसलाई ऋण भनिदैन । असारमा हुनुपर्ने विकास निर्माणका काम मंसिरमै भए, अनि संकलन हुने राजश्व अझै उठिसकेको छैन । त्यसकारणले केही रकम भुक्तानी गर्न बाँकी होला, अब मलाई लाग्छ त्यो असार मसान्तसम्म भुक्तानी भइसक्छ । अर्को आर्थिक वर्षमा यस्तो हामीले ल्याएका योजनालाई कार्यान्वयन गर्न सक्छौँ । नगरको ऋण बढेको भनेर भ्रम छरिएको हो । बरु विकास निर्माणका काम धेरै समयमै भए, असार मसान्त आउन धेरै बाँकी छ ,त्यसैले पनि यस्तो किसिमको समस्या देखिएको होला । 

विभिन्न नाममा हुने अनियमितता रोक्नुहुन्छ ? 

हो,एकदम सही प्रश्न गर्नुभयो । सुशासन भन्ने कुरा मुख्य कुरा हो । नागरिकले तिरेको एक/एक पैसा करको सहिरुपमा सदुपयोग हुनुपर्छ । त्यसैले विभिन्न नाममा हुने भ्रष्टाचारको अन्त्य गर्न नेतृत्व नै अग्रसर हुनुपर्छ । मैले आफूले नेतृत्व गर्ने ठाउँमा पनि भ्रष्टाचारलाई शून्यमा झार्नका लागि सबैको सहयोग आवश्यक हुन्छ । मेरो अठोटलाई सबैले साथ दिने हो भने अनियमितता रोक्ने र नागरिकले सानो रकमको पनि परिवर्तनको अनुभूति हुने गरी विकास पाउन सक्छन् । यसमा पूर्णरुपमा सक्रिय भएर म लाग्ने छु ।

टिकाराम खड्का
मेयर उम्मेदवार, तुलसीपुर उपमहानगरपालिका
नेकपा एमाले

    सम्बन्धित समाचार...