७ बैशाख २०८१, शुक्रबार

प्याच्च बोल्ने, कुन्ठाले भरिएको भाषण गर्ने हलमा हाँस्ने र बेलुका आरामले सुत्ने हामी केपी ओली होइनौँ : गगन थापा

gagan 2

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरुको घोषणापत्रले एमाले अध्यक्ष केपी शर्मा ओलीको झुटलाई चुनौती दिएकाले पागल भनेको टिप्पणी गरेका छन् ।

बुधबार पार्टीको सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा कांग्रेस महामन्त्री थापाले ओलीले कांग्रेसको घोषणापत्र विषयवस्तुमा चुनौती दिन नसकेको तर आफ्नो आलोचना देखेपछि आक्रोशित भएको बताए ।

‘केपी ओलीले मुख छाड्ने कुरा नयाँ होइन, जसको मुखमा अंगार छ उसले ओकल्ने कालै हो । त्यो नयाँ कुरा होइन । कसैले आँट गरेर तपाइँ झुट बोल्दै हुनुहुन्छ भनेपछि सनक्क सन्केर पागल भन्नुहुन्छ । प्याच्च बोल्ने, कुन्ठाले भरिएको भाषण गर्ने हलमा हाँस्ने र बेलुका आरामले सुत्ने हामी केपी ओली होइनौँ ।’

आफूले ल्याएको समृद्ध नेपाल सुखी नेपालीको आइडिया चोरेको भन्ने ओलीको प्रश्नमा पनि महामन्त्री थापाले जवाफ दिए । उनले भने, ‘उहाँले चोर्‍यो चोर्‍यो भन्नु हुन्छ । मैले महाधिवेशनको समयमा ल्याएको सम्मुनत नेपालको विषय चोरेको भन्नु हुन्छ । यो विषयमा भ्याएको बेला बालकोटै पुगेर ट्युसन पढाउनै पर्ने भएको छ ।’

फरक प्रसंगमा महामन्त्री थापाले स्वतन्त्र उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता लिन अनुरोधसमेत गरेका छन् । उनले भने, ‘तालमेलका कारण केही साथीहरूले उम्मेदवारीबाट वञ्चित हुने नमिठो अवस्था बनेको छ । कतिपय ठाउँमा नियत खराव राखियो । महाधिवेशनको प्रतिसोध साँध्ने काम भएको छ । यी विषयमा चुप लागेर बसेका छैनौँ । तर, यो बेला युद्धको जस्तै अवस्था हो । अहिले चुनाव जिताउन केन्द्रित हुन्छौँ । चुनावपछि भने यी विषयमा छलफल हुन्छ ।’

महामन्त्री थापाले पाँच वर्ष काम गर्ने जिम्मेवारी दिन आग्रह गर्दै जिम्मेवारी पूरा गर्न नसके पाँच वर्षपछि कांग्रेसलाई भुइँमा झार्ने अधिकार जनतासँग भएको बताएका छन् ।

उनले कांग्रेसले प्रतिपक्षीको जिम्मेवारी पाएको भन्दै नेकपाभित्रको किचलो र केपी शर्मा ओलीको असंवैधानिक कदमका कारण कांग्रेस सरकारमा पु्गेको बताए । उनले भने, ‘पाँच वर्षको जिम्मेवारी पाएको पार्टीले आफ्नो जिम्मेवारी पूरा गर्न सकेन । आफूले चलाएको बस डिलबाट खसालेको छ, र छाति पिटेको छ यसरी खसालेँ भनेर । अझ फेरि जिम्मेवारी उसैलाई दिने ? कांग्रेसले २०४८ मा पनि जिम्मेवारी पाएको थियो, तर जिम्मेवारी पूरा गरेन । पार्टी फुटाएर विजोग गरेको छ, जनताले हामीलाई देखाइदिए । हामीलाई दोस्रो बनाइदिए ।’