१६ बैशाख २०८१, आईतवार

तीन गुणा भन्दा बढीको उम्मेदवारी दर्ता इलाममा

election

स्थानीय तह निर्वाचनको लागि इलाममा तीन गुणभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । दशवटा पालिका रहेको इलाममा पालिका प्रमुख/अध्यक्ष १० जना र उपप्रमुख/उपाध्यक्ष १० जना निर्वाचित हुन्छन् । ८१ वटा वडा रहेको इलाममा ८१ जना वडाध्यक्ष र ३२४ जना वडा सदस्य निर्वाचित हुनेछन् । तर, स्थानीय तहको निर्वाचनको लागि एक हजार ४५६ जनाको उम्मेदवारी परेको छ । यो संख्या पालिका निर्वाचित हुने जनप्रतिनिधिको तुलनामा झण्डै साढे तीन गुना बराबर हो ।

सदरमुकाम समेत रहेको इलाम नगरपालिकामा प्रमुखका लागि छ जना र उप–प्रमुखका लागि ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै १२ वटा वडाध्यक्षको पदका लागि ४५ जनाले उम्मेदवारी दिएका छन् । खुल्ला सदस्यका लागि ७८ जना, महिला सदस्यका लागि ३५ जना र दलित महिला सदस्यका लागि २९ जना गरि जम्मा दुई सय जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लाकै ठूलो नगरपालिका सूर्योदयमा प्रमुखका र उपप्रमुखको लागि पाँच÷पाँच जनाको उम्मेदवारी परेको छ । सूर्योदयका १४ वटाको वडाध्यक्षका लागि ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । खुल्ला सदस्यका लागि ११६, महिला सदस्यका लागि ५३, दलित महिला सदस्यका लागि ४६ जनाले गरेर जम्मा २९४ जनाको उम्मेदवारी परेको छ ।

देउमाई नगरपालिकाको प्रमुख र उपप्रमुखका लागि पाँच÷पाँच जनाको उम्मेदवारी परेको छ । ९ वटा वडाध्यक्ष पदका लागि २६ जना, खुल्ला सदस्यका लागि ५५ जना, महिला सदस्यका लागि २३ जना र दलित महिला सदस्यका लागि २१ जनको उम्मेदवारी परेको छ । देउमाईमा जम्मा १३५ जनाले मनोनय दर्ता गराएका छन् ।

माई नगरपालिकाको प्रमुखका लागि नौ जना र उपप्रमुखका लागि चार जनाले उम्मेदवारी दिएका छन् । वडाध्यक्षका लागि ५३ जना, खुल्ला सदस्यका लागि ७५ जना, महिला सदस्यका लागि ३५ जना र दलित महिला सदस्यका लागि ३० जना गरेर २०६ जनाको उम्मेदवारी परेको छ ।

यसैगरि चुलाचुली गाउँपालिकामा अध्यक्ष पदका लागि नौ जना र उपाध्यक्ष पदका लागि छ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वडाध्यक्ष पदका लागि ३६ जना, खुल्ला सदस्य पदका लागि ५४ जना, महिला सदस्यका लागि २६ जना र दलित महिला सदस्यका लागि २४ गरि १५५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

फाकफोकथुममा अध्यक्ष र उपाध्यक्षमा पाँच/पाँच जनाले उम्मेदवारी दिएका छन् । यस्तै ७ वटा वडा अध्यक्ष पदका लागि ३१ जना, खुल्ला सदस्यका लागि ४६ जना, महिला सदस्यका लागि २१ जना र दलित महिला सदस्यका लागि १७ जना गरि जम्मा १२५ जनाले उम्मेदवारी दिएका छन् ।

माइजोगमाई गाउँपालिकामा अध्यक्षका लागि चार जना, उपाध्यक्षका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । वडाध्यक्षका लागि १५ जना, खुल्ला सदस्यका लागि २८ जना, महिला सदस्यका लागि १४ जना र दलित महिला सदस्यका लागि १३ जना गरेर जम्मा ७७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

माङ्सेबुङ गाउँपालिकामा अध्यक्षका लागि चार जना, उपाध्यक्षका लागि दुई जनाले उम्मेदवारी दिएका छन् । वडाध्यक्षका लागि भने १७ जना, खुल्ला सदस्यका लागि ३० जना महिला सदस्यका लागि १४ जना, दलित महिला सदस्यका लागि १२ जना गरि जम्मा ७९ जनाले उम्मेदवारी दिएका छन् ।

रोङ गाउँपालिका अध्यक्ष पदका लागि छ जना, उपाध्यक्ष पदका लागि चार जनाले मनोनयन गराएका छन् । छ जना वडाध्यक्षका लागि २३ जना, खुल्ला सदस्यका लागि ४१ जना, महिला सदस्यका लागि १५ जना र दलित महिला सदस्यका लागि १५ गरि जम्मा १०४ जनाले उम्मेदवारी दिएका छन् ।

सन्दकपुर गाउँपालिका अध्यक्षका लागि ६ जना र उपाध्यक्षका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै ६ वटा वडाका वडाध्यक्ष पदका लागि १९ जना, खुल्ला सदस्यमा २९ जना, महिला सदस्यमा १५ जना, दलित महिला सदस्यमा ९ गरि जम्मा ८१ जनाले उम्मेदवारी दर्ता गराएको जनाइएको छ ।