२८ बैशाख २०८१, शुक्रबार

क्वारेन्टाइनमा बसेकाहरुमा देखियो औलोको संक्रमण

lamkhutte

क्वारेन्टाइनमा रहेका केही व्यक्तिमा औलोको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले प्रेस ब्रिफिङमा क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्दा केहीमा औलोको रिपोर्ट पोजेटिभ आएको जानकारी दिँदै सरसफाईमा विशेष ध्यान दिन आग्रह गरे ।

लामखुट्टेको टोकाइबाट लाग्ने औलोका कारण विश्वमा प्रत्येक दुई मिनेटमा एक जना बच्चाको ज्यान जान्छ । र, गर्मीयाममा यसको प्रकोप देखिने गरेको छ ।

गत आर्थिक वर्ष २०७५/७६ मा नेपालमा १,०६५ औलोका बिरामी थिए। जसमध्ये झन्डै ६० प्रतिशत बिरामी विभिन्न कामको सिलसिलमा देशबाहिर गएका व्यक्तिहरुमा देखिएको थियो। यसमा पनि झन्डै ९० प्रतिशत बिरामी भारतमा मजदूरी गरी फर्किएका थिए।

गत वर्ष चैत महिनामा ३७ जना औलोका बिरामी भेटिए पनि यस वर्षको सोही महिनामा १२ जना मात्रै पत्ता लागेका छन्।

उता विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस ‘कोभिड–१९’ को महामारी चलिरहेको समयमा औलोबाट मृत्यु हुनेको संख्या दोब्बर पुग्न सक्ने बताएको छ । अफ्रिकामा अहिले महामारीको कारण औलो नियन्त्रणको काम प्रभावित भएकाले यस वर्ष औलोबाट मृत्यु हुनेको संख्या सात लाख ६९ हजार पुग्न सक्ने डब्ल्यूएचओले बताएको हो ।