८ बैशाख २०८१, शनिबार

ओली र बामदेवको चर्काचर्की : प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुस्, बालकोट गएर आराम गर्नुस्

bamdev with kp oli

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद पेचिलो बन्दै गएको छ । दुई विवादास्पद अध्यादेशबाट सुरु भएको आन्तरिक विवाद अब नेकपा र सरकारको नेतृत्व परिवर्तनको बहससम्म पुगेको छ ।

शनिबार साँझ बालुवाटारमा नेताहरुबीच चर्काचर्की नै हुन पुगेको छ । अध्यादेश प्रकरणपछि स्थायी समिति बैठककोे माग भइरहेका बेला त्यसलाई टार्ने योजनामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली लागेका छन् ।

तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका बहुसंख्यक नेताहरु बैठक बोलाएर त्यसको छिनोफानो गर्ने पक्षमा छन् । यहि क्रममा प्रधानमन्त्री ओलीले शनिबार पार्टी सचिवालयका चार शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेटेर सचिवालय बैठक तत्काल नबोलाउने संकेत दिइसकेका छन् ।

ओलीले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेललाई बालुटार बोलाएर छलफल गर्दै अध्यादेश फिर्ता भएको अवस्थामा स्थायी समिति बैठक बोलाउन आवश्यक नभएको भन्दै टार्न खोजेका थिए ।

तर ओली र गौतमबीच शनिबारको भेटवार्तामा चर्काचकीमात्रै होइन, एकले अर्कालाई देखाइदिने सम्मको चुनौती दिएका छन् । स्रोतका अनुसार भेटमा नेता गौतमले ओलीलाई बेमौसममा अध्यादेश ल्याएर पार्टी र सरकारकै बद्नाम भएको भन्दै तत्काल प्रधानमन्त्री पदबाट राजीनामा गर्न सुझाएका थिए ।

गौतमले, अब हामीलाई धेरै नधम्क्याउनुस्, बरु प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिएर बालकोट जानुस्, आराम गरेर बस्नुस्,’ स्रोतका अनुसार गौतमको भनाइ थियो, ‘तपाईं मेरो लामो समयदेखिको साथी हो, त्यसैले भलाइकै लागि राम्रो सुझाब दिएको हुँ ।’

‘तपाईले बेमौसममा अध्यादेश ल्याएर गम्भीर गल्ती गरिसक्नुभयो । यसमा तपाइको मनस्थिति ठिक देखिएन । अब खुरुक्क राजीनामा दिनुस् र बालकोट गएर बस्नुस् । त्यसैमा तपाईको भलो हुन्छ’, ओलीलाई गौतमको सुझाव थियो ।

आफूले राजीनामा दिए कसलाई प्रधानमन्त्री र कसलाई अध्यक्ष बनाउने तयारी छ भनेर ओलीले गौतमलाई सोधेका थिए । गौतमको जवाफ थियो, ‘तपाईंले राजीनामा दिएपछि पार्टीले विधिसम्मत प्रक्रियाबाट निर्णय गर्छ । तर, सरकारलाई असफल र पार्टीलाई बदनाम बनाएर तपाईं बसिरहन मिल्दैन ।’

गौतमको यस्तो सुझाव सुनेर आक्रोसित बनेका ओलीले यसको हिसाव किताव राम्रैसँग गर्ने जवाफ फर्काएका थिए । नेताहरुबीच विवाद चर्कदै गएपछि एकले अर्कोलाई हैसियत देखाउने सम्मका अभिव्यक्ति दिएका थिए ।

तर गौतमको सुझाव सुनेपछि ओली आक्रोसित मात्र भएन्न, गौतमलाई देखाइदिने धम्की नै दिएका थिए । ओलीले गौतमलाई धम्क्याउदै भनेका थिए, ‘यो त अति भो, पाटीभित्रैबाट यस्तो षडयन्त्र हुन्छ भन्ने मैले सोचेको पनि थिइँन । म राजीनामा कुनै हालतमा दिन्न । सक्नुहुन्छ भने हटाएर देखाउनुस् ।’

गौतमको भनाइमा जवाफ दिँदै ओलीले भनेका थिए, ‘म विरुद्ध षड्यन्त्र भइरहेको छ भन्नेमा म स्पष्ट छु, तर म राजीनामा दिन्नँ । बरु, तपाईंहरू अविश्वास प्रस्ताव ल्याउनुस्, सामना गर्छु । को–कसले मेरोविरुद्ध मतदान गर्छन्, तिनका नाम पनि छातीमा राख्छु । तर, अन्तिम घडीसम्म डटिरहन्छु ।’

बालुवाटार श्रोतका अनुसार दुई नेताबीच झण्डै आधा घण्टा यस्तो चर्काचर्की परेको थियो । आफूविरुद्ध मोर्चाबन्दी भइरहेको भन्दै ओलीले त्यसको हिसावकिताव आफुसँग रहेको भन्दै गौतमलाई धम्क्याएका थिए । गौतम नेकपाभित्रका हक्की स्वभावका नेता हुन् ।

नेकपाभित्र ओलीको कार्यशैलीलाई लिएर तीव्र आलोचना भइरहेको छ । अध्यादेशको चर्को विरोधपछि फिर्ता लिएका प्रधानमन्त्री ओलीले शुक्रबार विपक्षी दलका नेता शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डसँग पनि छुट्टाछुटटै र सामूहिक भेटवार्ता गरेका थिए ।

गत बैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्य्विधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ संशोधन गर्ने निर्णयलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले ति दुवै अध्यादेश प्रमाणिकरण गरेकी थिइन् । त्यसको चार दिनमै १२ गते अध्यादेश फिर्ता लिनुपरेको थियो ।