
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी स्पष्ट बहुमतका साथ पास हुने बताउनु भएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफूहरु संसदबाट स्पष्ट बहुमत पुर्याएर यो सम्झौंता पारित गराउन लागि परेको बताउनु भएको छ ।
उहाँले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई एमसीसीमा दोहोरो चरित्र नदेखाउन पनि आग्रह गर्नुभयो । संसदमा उपस्थित सांसदको बहुमतबाट पारित गर्न सकिने भएपनि महत्वपूर्ण मुद्दा भएकाले सबै जनप्रतिनिधिहरुको साथ हुनु उत्तम हुने बताउनु भयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनु भएको भट्टराईले आफ्ना पुराना मित्र प्रचण्डलाई बाहिर राष्ट्रवाद र भित्र राष्ट्रघात नगर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कि तपाईले यसलाई साथ दिनोस् १३८ पु-याएर पारित गर्नोस् । होइन भने तपाई सत्तामा पनि बस्ने, तर मार्ने अनि बाहिर चाँही राष्ट्रवाद भित्र चाँही राष्ट्रघात गर्न पाईदैन । पहिलो विकल्प, तपाईले साथ दिनुहोस् , होइन भने तपाई जानोस्, त्यसको ठाउँमा अर्को आउँछ । हामी बहुमत पु-याएर पारित गर्छाै, लटरपटर चल्दैन ।’
नेता भट्टराईले एमसीसी मुलुकको समृद्धि र विकासका लागि पनि आवश्यक रहेको बताउनु भयो ।
उहाँले एमसीसी पारित नभए नेपाल चीन, भारत र अमेरिकाको भूराजनीतिक चपेटामा पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो एमसीसी सहमतिबाट पछाडि हट्दा ठूलो संकट हामीसँग आईपर्दैछ । त्यसलाई राष्ट्रिय सहमति बनाएर जानुपर्छ ।’