
मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनअन्तर्गत मतदान जारी रहेका बेला मतदान स्थल बाहिर सामान्य झडप भएको छ ।
जनमत पार्टीका कार्यकर्ता मतदानस्थल प्रवेश गर्न खोज्दा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि पनि प्रहरी र प्रदर्शनकारीबीच विभिन्न स्थानमा पटक पटक झडपका भएको थियो ।
यस्तै सिके राउत पार्टीका कार्यकर्ताले सर्लाही हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाई चढ्ने गाडी नियन्त्रणमा लिएर तोडफोड गरेका हुन्। मेयर प्रसाईं र उपमेयर रेनुका पौडेल सवार गाडीमा तोडफोड हुँदा प्रसाईं घाइते हुनुभएको छ ।

जनकपुरधाममा भइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न पुगेका मेयर प्रसाईको प्रदेश २–०३००१ झ ००२० नम्बरको गाडी सिके राउतका कार्यकर्ताले तोडफोड गरेका हुन्।
जनकपुरधामका विभिन्न ठाउँमा जनमत पार्टीका कार्यकर्ताहरुले प्रदर्शन जारी राखेका छन्। जनमत पार्टीका कार्यकर्ताहरुले बिहानैदेखि ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका छन्।
उनीहरुले मधेश विगत एक महिनादेखि आन्दोलित रहे पनि माग पूरा गर्न चासो नदेखाएको र मधेसमा आएर निर्वाचन गरिरहेकाले विरोध गरेको जनाएको छ।