१८ बैशाख २०८१, मंगलवार

मन्त्री यादवले सिके राउतलाई मार्ने नियतले अभिव्यक्ति दिएको होइन : राज्यमन्त्री यादव

Yogendra Raya Yadav

मधेस प्रदेसका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादवलाई बचाउ गरेका छन् । शुक्रबार राज्यमन्त्री यादवले जनकपुरमा पत्रकार सम्मेलन गरेर उनको बचाउ गरेका हुन् ।

उनले मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको हत्या गर्ने नियतले अभिव्यक्ति नदिएको दाबी गरे ।

“सिके राउतकै कार्यकर्ताले मन्त्री यादवसहित जसपा कार्यकर्तामाथि सांघातिक हमला गर्ने योजना बनाएको थियो,” जसपा नेता तथा राज्यमन्त्री यादवले भने,“बाटो छेकेर हमला गर्न खोज्ने १५/२० जना राउतका कार्यकर्ताका अगाडि हजारौँ जसपाका कार्यकर्ता संवेदनशील नभएको भए अर्कै परिस्थिति सिर्जन हुने थियो ।”

मन्त्री यादवले हिंसात्मक गतिविधि नगर्न सिके राउत र उनका कार्यकर्तालाई सुझाव दिएको बताए । मन्त्री यादवको हिंसात्मक अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी आलोचना भइरहेको छ । यसैबेला राज्यमन्त्री यादवले मन्त्री रेणु यादवको बचाउ गरेका हुन् ।

राज्यमन्त्री यादवले किसान आन्दोलनको नाममा जनमत पार्टीले गैरलोकतान्त्रिक र अराजक गतिविधि गरिरहेको आरोप समेत लगाए । उनले भने,“रेमन्डको टाइ र सुनको सिक्री लगाउने सिके राउतको किसान आन्दोलन नक्कली हो ।”

गौर नरसंहार नै दोहोर्‍याउने अभिव्यक्तिको सवालमा उनले भने,“गौर घटनामा हाम्रो पार्टीको संलग्नता छैन । जनताले प्रतिकार गर्दा त्यो घटना घटेको थियो । र मन्त्रीज्यूले गौर घटना नै दाहोर्‍याउने कुरै गर्नुभएको छैन ।”