
नेपाली कांग्रेस अहिले आफ्नो १४औँ महाधिवेशनबाट नयाँ नेतृत्व छान्दैछ । महाधिवेशनका रुपमा नयाँ नेतृत्व भनिएपनि अनुहार पुरानै छन् ।
नेतृत्वको प्रतिष्पर्धामा होमिएको कांग्रेसमा छलछाम र आपसी मतभेदले संस्थापक नेता वीपी कोइरालाको मेलमिलापको सिद्धान्त र आदर्शलाई नै उपहास गरेको देखिन्छ ।
मेलमिलापको नीतिका प्रणेता हुनुहुन्थ्यो, काँग्रेसका संस्थापक मध्येका नेता विपी कोइराला । प्रजातन्त्रका लागि लाग्दा तात्कालिन राजाले थुनेका विपीले राजासँगै सहकार्यका लागि गरेको प्रस्ताव हो मेलमिलाप । २०३३ साल पुस १६ गते प्रजातन्त्र चाहिन्छ मात्र भन्दा स्वतन्त्रता र जीवनसमेत जान सक्ने खतरा मोलेर नेपाल फर्कदा विपी कोइरालाले जारी गर्नु भएको अपिल पढ्दा आजको अबस्थालाई हेरेर उहाँले नेपाली राजनीतिको पूर्व अनुमान गर्नुभएको भान हुन्छ । त्यतिखेर नै विपीले भन्नुभएको थियो, देश संकटमा छ ।
उहाँले आठ वर्षको जेल जीवन र निर्वासनमा पाएको दुखलाई समेत परवाह नगरी राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्कनु भएको थियो । विपीको मेलमिलाप नितीलाई स्वभाविक निर्णय भन्नेदेखि राजासँगको घाँटी जोडाइकारुपमा लिने पनि छन् । तथापि विपीको मेलमिलापको नीति देशका लागि र दलका लागि समेत आज पनि उत्तिकै सान्दर्भिक लाग्दछ ।
विपीको मेलमिलापको नीति आज उप्रान्त सान्दर्भिक हुँदा हुँदै पनि अन्य राजनीतिक दलमात्र होइन उहाँकै विरासतको पार्टी काँग्रेसले पनि बिर्सेको छ। विपीको नाम बेचेर राजनीतिक रोटी सेक्नेले विपीको नीति नामको घर बेचेर खरानीको व्यापार गरिरहेका छन् ।
अन्य दलको समेत सहयोगमा गठबन्धनको सरकार बनाएको वर्तमान काँग्रेस आफैमा भने गुट र फुटको फोहोरी कुन्डमा नुहाइरहेको छ। चुनाव जित्नकै लागि विचारको हैन स्वार्थको ढिकुरा बनाएकाले आफ्नै नेतालाई खुइल्याउन भुत्भुते खरानी हाल्न कुनै कसर बाँकी राखेका छैनन् ।
चुनावका मुखमा पदका लागि गुट फेर्ने र मौका हेर्नेले आफ्नै विगतलाई बिर्सेर पानीमाथिको ओभानो बन्न खोजेका छन् । भोली एउटै पार्टीमा बस्नुपर्छ भन्ने समेत बिर्सेर काँग्रेसको चौधो महाधिवेशनमा नेताहरु आपसी हिलो छ्यापाछ्यापमा लागेका छन् ।
विपीको मेलमिलापको नीति दलहरुमात्र होइन राज्यका अंगहरुको समन्वयका लागि पनि हो । तर संवैधानिक अङ्गहरुले तोकेको काम समय भित्र गर्न नसक्दा तिनीहरु बीच विश्वासको समस्या पर्न थालेको छ । अनायास सरकार, संसद र सर्बोच्च अदालतबीच मतभेद हुन गएको छ । यो शुभसंकेत होइन । छापामा संवैधानिक रुपमा पनि आपसमा फाटो आउन थालेको देख्दा मुलुक गम्भिर अवस्थामा पुगेको भान हुन्छ ।
यो अवस्थालाई सल्ट्याउन लाग्नुपर्ने सत्ताको नेतृत्व गर्ने कांग्रेस आफै कोराकोर र फोराफोर गरेर बसिरहेको छ। वीपीको नाम जप्ने र सिद्धान्तको चिट चोर्ने नेताहरुले विपीको विचारमात्र होइन भावनाको समेत धज्जी उडाएको महाधिवेशनमा थप पुष्टि भएको छ।