
प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतान्त्रिक शासन व्यवस्थाविरुद्ध नलाग्न चुनौती दिनुभएको छ ।
गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बिहान शान्तिबाटिकामा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्ने भए चुनाव लडेर आउन पूर्वराजा शाहलाई चुनौती दिनुभएको हो ।
जनतानै सर्वशक्ति हुने र जनताले नै देशको नेतृत्व गर्ने नेतृत्व चुन्ने जिम्मा जनताको नै भएको प्रधानमन्त्रीको भनाइ थियो । उहाँले जनताभन्दा ठुलो शक्ति अरु कुनै नभएको उल्लेख गर्नुभयो ।
प्रजातान्त्रिक मुलुकमा चुनाव जितेर नेतृत्वमा आउन सकिने सुविधा रहेको समेत देउवाले बताउनुभयो । कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ। तर वर्तमान शासन व्यवस्था विरुद्ध नलाग्नुस्।’
देउवाले संविधानमा केही असन्तुष्टि आफ्नो पनि रहेको बताउँदै त्यसलाई सुधार्दै जाने बताउनुभयो । देउवाले गणेशमान सर्वमान्य नेताका रुपमा स्थापित भएको स्मरण गर्नुभयो ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आगामी राष्ट्रिय सभा र उपचुनावमा एक्लै लडेर जित्न नसकिने भन्दै सत्तारुढ गठबन्धनका बीचमा तालमेल गरेर जाने बताउनुभयो
कार्यक्रममा प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक खगेन्द्र भट्टराईलाई स्वर्णपदकबाट सम्मान गरेको थियो ।