१३ बैशाख २०८१, बिहीबार

बेलाबेला तत्कालीन व्यवस्थाप्रति निराशापूर्ण अभिव्यक्ति लिएर किन झुल्किछन् पूर्वराजा शाह ?

Gyandra

बेलाबेलामा तत्कालीन परिस्थितिबारे निराशापूर्ण सन्देश प्रवाह गर्ने गरेका पूर्वराजा ज्ञानेन्द्र शाहले यतिबेला दशैंको शुभकामना सन्देश दिँदै दलहरुमाथि आक्रोश व्यक्त गर्नुभएको छ ।

देशमा राजसंस्थाको उन्मुलन भइसकेपछि सामान्य नागरिकसरह बसिरहेका ज्ञानेन्द्रले श्री ५ कै हैसियतमा सन्देश जारी गर्दै निराशा व्यक्त गर्ने गरेको भए पनि राजनीतिमै आएर आफ्नो ताकत देखाउने हिम्मत भने गर्नु सक्नु भएको छैन ।

दलहरुको सत्ता स्वार्थले मुलुकलाई असफलतातिर धकेलेको पूर्वराजा ज्ञानेन्द्रको आरोप छ । दशैको शुभकामनासहित जारी गरेको भिडियो सन्देशमा ज्ञानेन्द्रले सुरुमै दशैं दानवीय शक्तिविरुद्धको पर्व भएको स्मरण गराउँदै वर्तमान अवस्थाविरुद्ध आक्रोश पोख्नु भएको छ ।

यतिमात्र होइन पूर्व राज्ञा ज्ञानेन्द्रले मुलुकवासीमाथि अत्याचार भइरहेको र देश विदेशीहरुको क्रिाडाभूमी बन्दै गएकोसमेत टिप्पणी गर्नुभएको छ ।

गणतन्त्र स्थापनापछि सामान्य नागरिकको हैसियतमा रहेका पूर्वराजा ज्ञानेन्द्रले राजाकै रुपमा विभिन्न चाड पर्व र अवसरहरुमा आफ्नो सन्देश जारी गर्ने र तत्कालीन परिवेशमाथि असन्तुष्टि व्यक्त गर्दै आउनु भएको छ ।

राज संस्थाको बिदाइसँगै मुलुकले व्यवस्था परिवर्तनका विभिन्न आयामहरुमा उपलब्धि पनि हासिल गरेको थियो । तर ती उपलब्धि उधारो दस्तावेज र कोरा अभिव्यक्तिमा सीमित बन्न थालेको भान ठूलै तप्काले गरिरहेको छ ।

त्यसैले अहिले राप्रपालगायतका कतिपय दल र समूह राजसंस्था पुनर्स्थापनाको अभियानमा छन् । तर राजनीतिक दलमा आफ्नो कुनै संलग्नता नरहेको बताउने राजा बेलाबेला तत्कालीन व्यवस्थाप्रति निराशापूर्ण अभिव्यक्ति लिएर किन झुल्किनुहुन्छ त ?

खोपीको देउताका रुपमा राखिएका राजाले कुनै दिन शिव स्वरुप धारण गरेर मुलुकभर फैलिएको अव्यवस्था र अस्तव्यस्तताको कालकुट विष पिउँछन् भन्ने कतिपयलाई लागिरहेको छ । यही बल र भरोसाका कारण बेलाबेलामा पूर्वराजा ज्ञानेन्द्र उही पूरानो श्री ५ को धङधङीसहित प्रस्तुत हुने गर्नुभएको छ ।

यसपटक त ज्ञानेन्द्रले पृष्ठभूमिमा राजा वीरेन्द्र र रानी ऐश्वर्यको तस्बिरसहित भिडियो सन्देश जारी गर्दै आफूलाई प्रजातन्त्रप्रेमी राजा वीरेन्द्रकै प्रतिनिधिका रुपमा प्रस्तुत गर्ने प्रयास गर्नु भएको छ । अनि अभिभावकीय भूमिकामा राजसंस्थाको आवश्यक्ता रहेको भन्दै राजतन्त्र पुनस्थापनाको चाहना मुखरित गर्नुभएको छ ।

त्यसो त बेलाबेला राजनीतिक दलका नेता नै पूर्वराजाको सक्रियताप्रति सशंकित हुने गरेका छन् । त्यसैले निर्मल निवासको एउटा सानो सन्देशले सिंहदरबार थर्कमान हुने गर्छ । अहिलेका शीर्षस्थ नेताहरु पूर्वराजाको सन्देश आउनासाथ रक्षात्मक भइहाल्नुले पनि कतै न कतै आशंका र भयले काम गरेको छ कि भन्ने देखिन्छ ।

ज्ञानेन्द्र शाह नेपाली राजनीतिमा असफल नाम हो । नागरिकका मौलिक अधिकार कटौति गरेर प्रणालीमाथि कु गरेको बैगुन पनि बिर्सिहाल्ने बेला भएको छैन । यद्यपि आफ्ना पछाडि ठूलै संख्या लागिरहेको छ र निकास दिने सुत्र आफूसँगै छ भन्ने ठानिरहेका ज्ञानेन्द्रलाई राजनीतिक बाटो खुलै पनि छ । यद्यपि बन्द कोठाभित्र बसेर दल र व्यवस्थाप्रति वितृष्णा सुनाइरहेका पूर्वराजाले त्यो हिम्मत गरेको र गर्नसक्ने छाँटकाँट चाँहि देखिँदैन ।

पूर्वराजा ज्ञानेन्द्रको आक्रोश : पथभ्रष्ट नेता, सत्ता स्वार्थको गठबन्धन दुर्भाग्य

ज्ञाने‍न्द्रले भनेका छन्, ‘पूर्खाहरूले आर्जेको यो स्वाधीन राज्यलाई असफलतातिर धकेल्नुहुन्न भन्ने आम भावना रहेको छ। आफ्ना सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर सुन्दर नौलो नेपाल बन्दो रहेनछ। त्यसैले बलियो मियोमा आबद्धभएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउनु आवश्यक छ।’

उनले नेपाल देशी विदेशीहरूको क्रीडाभूमि भएको जनगुनासो रहेको बताए। ‘नेपाल निरन्तर देशी विदेशीहरूको क्रीडाभूमि पनि भयो भन्ने जनगुनासो छ। त्यसैले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुनत सक्षम र समृद्धिको पुनस्निर्माणमा ध्यान दिनु देखिन्छ। नेपाललाई फेरि महान बनाउनु परेको छ’, पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्।

रोजगारीका लागि दिनहुँ हजारौँको संख्यामा नेपालीहरू विदेशिरहेकोमा उनले चिन्तासमेत व्यक्त गरे। पूर्वराजा ज्ञानेन्द्रले हाम्रा कुनै कार्यले देशले कहिल्यै हार्न नहुने बताए।

उनले भनेका छन्, ‘व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पदभ्रष्ट तुल्याएको छ। सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ। विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ। हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन। राष्ट्रिय प्रजातन्त्र, मौृलिक मान्यताह र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकी राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरून् जय नेपाल।’

हेर्नुहोस् भिडियो–

https://www.facebook.com/onlinenepalnewz/videos/1483915142048627