२५ बैशाख २०८१, मंगलवार

यस्ता आरोप लगाए एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीमाथि

kp oli madhav nepal

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीकै कारण देश समस्यामा परेको भन्दै चर्को आलोचना गर्नुभएको छ ।

पार्टी संसदीय दलको बैठकमा बोल्दै नेपालले प्रधानमन्त्री हुँदा ओलीले खेलेको भूमिकाको चर्को आलोचना गर्नुभएको हो । ओलीमाथि नेपालले भ्रष्टाचारीको संरक्षकदेखि विदेशीका सामू समर्पण गरेकोसम्मका आरोप लगाउनुभएको छ ।

पार्टी विभाजन भएपछि केही दिनयता एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच चर्को आरोपप्रत्यारोप चलिरहेको छ । एक हिसाबले भन्ने हो भने ठूला नेताहरु गालीगलौजमै उत्रिने गरेका छन् । शनिबार ओलीले नेपालमाथि विभिन्न आरोप लगाउनुभएको थियो भने आइतबार नेपालले ओलीमाथि हमला गर्नुभयो ।

ओली भ्रष्टाचारीका ‘संरक्षक’
आफूले चाहँदाचाहँदै काम गर्न नदिएको भनेर आरोप लगाउँदैलगाउँदै केपी ओलीले सरकार छोड्नुपर्यो । म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने उहाँको नारानै थियो । तर एमालेबाट भर्खर अलग भएर नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनेका माधवकुमार नेपाल भने त्यो मान्न तयार हुनुहुन्न । बरु ओलीनै भ्रष्टाचारीको संरक्षक भएको नेपालको आरोप छ । त्यसका लागि नेपालले भर्खरै महालेखा परीक्षकको कार्यालयले दिएको प्रतिवेदनलाई अघि सार्नुभएको छ ।

विदेशी सामु ओलीले ‘समर्पण’ गरे
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्तागठबन्धनले विदेशीको दलाली गरिरहेको र विदेशीको आडमै आफूलाई प्रधानमन्त्रीबाट हटाइएको भनेर आरोप लगाउँदै आउनुभएको छ । शनिबार मात्रै ओलीले पार्टी फुटाउन विदेशीको दलाली गरेको भनेर नेपालमाथि आरोप लगाउनुभएको थियो । तर आइतबार त्यही आरोप ओलीमाथि लगाउनुभयो । शक्तिमा बस्न ओलीले विदेशीका सामू समर्पण गरेको नेपालको आरोप छ ।

ओली ‘व्यक्तिवादी’
नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपालले ओलीमाथि लगाएको अर्को आरोप हो, ओली व्यक्तिवादी हुनुहुन्छ । ओलीमा आफैलाई पार्टी र सरकार ठान्ने सोच छ । र, त्यसैकारण देश समस्यामा परेको हो भन्ने नेपालको बुझाई छ ।

ओली ‘पदलोलुप’ र ‘बेइमान’
माधवकुमार नेपालमाथि अहिले सबैभन्दा धेरै लागेको आरोप उहाँ पदलोलुप हुनुहन्छ भन्ने हो र , एमाले अध्यक्ष केपी शर्मा ओलीले बारम्बार यसलाई उठाउने गर्नुभएको छ । शनिबार मात्रै ओलीले अध्यक्ष हुनकै लागि नेपालले पार्टी फुटाएको आरोप लगाउनुभएको थियो । तर नयाँ पार्टी बनाएर अध्यक्ष बनेपनि ओलीनै पदलोलुप भएको नेपालको आरोप छ । पार्टीभित्र सहमति गर्ने तर पालना नगर्ने भनेर नेपालले ओलीलाई बेईमान भएको समेत आरोप लगाउनुभयो ।

तत्कालीन नेकपा हुँदादेखिनै शुरु भएको ओली र नेपालबीचको आरोपप्रत्यारोप सहजै रोकिने अवस्था देखिन्न । तर यी आरोप प्रत्यारोपले नेताहरुले आफ्नै साख घटाइरहेका छन् ।

मधुकैटभ देखी विदेशी दलाल, माधव नेपाल माथि ओलीको आरोप