१३ बैशाख २०८१, बिहीबार

मधुकैटभ देखी विदेशी दलाल, माधव नेपाल माथि ओलीको आरोप

kp oli 3

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छोडेर गएका नेता माधवकुमार नेपालको चर्को आलोचना गर्नुभएको छ । युथफोर्सले गरेको कार्यक्रममा ओलीले नेपालमाथि अपशब्द प्रयोग गरेर अनेकथरी आरोप लगाउनुभयो ।

माधवकुमार नेपाल अर्को पार्टी खोलेर अघि बढिसक्नुभयो । नेपालले पार्टी छोड्दा खासै फरक नपर्ने पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको दावी छ । तर नेपालको चर्को आलोचना गर्ने र विभिन्न आरोप लगाउने काम ओलीले रोक्नुभएको छैन ।

खासै फरक नपर्ने दावी गरेपनि नेपालसहितको समूह पार्टीबाट अलग भएकोमा ओलीको आक्रोश छ । शनिबार पनि ओलीले नेपालमाथि विभिन्न आरोप लगाउनुभयो । जसमा अमर्यादित शब्दको प्रयोग पनि गरिएको छ ।

नेपाल कुलंगार

माधवकुमार नेपालसहित साविक एमालेका ५५ जना केन्द्रीय सदस्य र ३० सांसदले औपचारिक रुपमै पार्टी छोडेर नयाँ दलमा लागे । ओलीका नजरमा उनीहरु एक दुई पहेंला पात हुन् । तर तिनैले पार्टी छोडेकोमा भने ओलीमा निकै आक्रोश छ ।

नेपाल मधुकैटभ जस्ता राक्षस

हिन्दू शास्त्रमा देवता राक्षसका विभिन्न कथाहरु छन् । माधवकुमार नेपालमाथि प्रहार गर्ने क्रममा ओलीले त्यो प्रसंग पनि निकाल्नुभयो । र, राक्षसले देवतालाई दुःख दिए जस्तो नेपालले आफूलाई लामो समय दुःख दिएर पार्टी छोडेको टिप्पणी गर्नुभयो ।

नेपाल विदेशीको दलाल

एमाले छोडेर नेकपा एकीकृत समाजवादी बनाएका नेपालमाथि पार्टी फूटाउनका लागि विदेशीको दलाली गरेको पनि ओलीले आरोप लगाउनुभयो । त्यसलाई रोक्न आफूले अनेकौं प्रयास गरेपनि नसकेको ओलीको तर्क छ ।

नेपाल पदलोलुप

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बारम्बार आफ्नो लडाइँ पदका लागि नभएको बताउँदै आउनुभएको छ । यति भन्दा भन्दै पनि नेपाल नयाँ दल खोलेर अध्यक्ष भैसक्नुभएको छ । त्यसैले माधवकुमार नेपालले पार्टी फोरेको पदका लागि नै हो भन्ने ओलीको अर्को आरोप छ ।

केपी शर्मा ओली यो देशको सबैभन्दा ठूला दलको अध्यक्ष र पूर्व प्रधानमन्त्री हो । तर उहाँले जसरी अमर्यादित अभिव्यक्ति दिनुभएको छ, त्यो शोभनीय छैन ।