
दाङ । मेडिकल सुपरिटेन्डेन्टमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग राखी दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।
नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु जिल्ला अध्यक्ष सर्जन परियारसहितको टोलीले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहमाथि हिजो कालोमोसो दलेर भागेको थियो ।
अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै त्यसो नभएसम्म काममा नफर्कने बताएका छन् । उनीहरुले कार्यक्षेत्रमा सुरक्षा दिन पनि माग गरेका छन् ।
प्रशासनले स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारलाई अराजक गतिविधि भनेको छ । कालोमोसो दल्नेलाई कानूनी खोजेर कारबाहीको दायरामा ल्याउने प्रशासनको प्रतिबद्धता छ ।
प्रशासनले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए पनि स्वास्थ्यकर्मीले सेवा बन्द गरेपछि बिरामी मर्कामा परेका छन् ।