
अफगानिस्तानका अधिकांश भुभाग नियन्त्रणमा लिएको तालिबानले राष्ट्रपति कार्यालय समेत कब्जामा लिईसकेको छ ।
हिजै अपराह्न राष्ट्रपति असरफ घानी आफ्ना सहयोगीसहित मुलुक छाडेर भागेपछि तालिबान लडाकूले राष्ट्रपति कार्यालय कब्जामा लिएको जनाएको हो ।
राष्ट्रपति भवनमा घानीकै उपस्थितिमा सत्ता हस्तान्तरण समारोह हुने सम्झौता भए पनि घानी देश छाडेर ताजिकिस्तानतर्फ भागेको जनाइएको छ । अब तालिबानले सोही भवनबाट अफगानिस्तानलाई ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्दै शासन थाल्ने तालिबान प्रवक्तालाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
तालिबानले जनधनको क्षति नगर्न ‘शान्तिपूर्ण शक्ति हस्तान्तरणको आशामा’ शहर प्रवेश नगरी काबुलको प्रवेशद्वारमा रहे पनि शहरमा लुटपाट हुन नदिन लडाकुलाई शहर पस्न अनुमति दिएको थियो ।
तालिबान प्रवक्ताले अफगानिस्तान र काबुलका बासिन्दालाई नडराउन भनेका छन् । विदेशी कूटनीतिक नियोगका कार्यालय र तिनका अधिकारीहरुमाथि पनि केही नगरिने भन्दै तालिबानले सुरक्षा सुनिश्चितता हुने बताएका छन् ।
राष्ट्रपति गनी कहाँ छन्?
राष्ट्रपति घानी देश छोडेर उज्बेकिस्तानतर्फ गएको रोयटर्सले जनाएको छ । उनले विद्रोहीहरूले बलपूर्वक जितेको भन्दै अब अफगान जनताको इमान, सम्पत्ति तथा आत्मसम्मान रक्षा गर्ने जिम्मा पनि तिनैको भएको बताएका छन्।
आइतवार अबेर तालिबानहरू राष्ट्रपति भवनभित्र रहेका तस्बिर सार्वजनिक भएका थिए।
अमेरिकी दूतावास सारियो
काबुललाई तालिबानले घेरेपछि अमेरिकाले आफ्नो दूतावास भवन छोड्दै काबुल अन्तर्राष्ट्रिय विमानस्थलको परिसरमा स्थानान्तरण गरेको छ।
हेलिकप्टरबाट दूतावासका सबै कर्मचारी र झन्डालाई विमानस्थल परिसरमा सारिएको थियो। आफ्ना नागरिकको सुरक्षा गर्न विमानस्थल परिसरमा ४,००० अमेरिकी सैनिक परिचालन गरिएका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार अफगानिस्तानमा १,४०० अमेरिकी कर्मचारी थिए।
तीमध्ये सानो समूह मात्रै केही समयका लागि काबुलमा रहने र बाँकीलाई त्यहाँबाट निकालिने जनाइएको छ।
तालिबान नेता को हुन्? हिबतुल्लाह अखुन्दजादा र मुल्लाह गनी बरादरमध्ये कसले सम्हाल्लान् अब अफगान सरकार?
अफगानिस्तानका राष्ट्रपति अशरफ गनीको बहिर्गमनसँगै तालिबानले राष्ट्रपति भवन समेत कब्जा गरेपश्चात् अब उनीहरूका कुन कुन नेताले सत्ता सञ्चालनको नेतृत्व गर्नेछन् भन्ने प्रश्नहरू उठिरहेका छन्।
यो प्रश्नको जबाफ खोज्दा धेरै चर्चा दुईवटा नामको भइरहेका छन् – हिबतुल्लाह अखुन्दजादा अनि मुल्लाह अब्दुल गनी बरादर।
यी दुई को हुन्, तालिबानभित्र यिनको भूमिका तथा यिनको व्यक्तित्व कस्तो छ?
मुल्लाह गनी बरादर
मुल्लाह अब्दुल गनी बरादर ती चारजनामध्येका एक हुन् जसले सन् १९९४ मा तालिबानको गठन गरेका थिए।
सन् २००१ मा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले तालिबानलाई सत्ताबाट हटाइदिएपश्चात् उनी विदेशी सैन्य फौजविरुद्धको विद्रोहका एक प्रमुख नाइके बनेका थिए।
सन् २०१० मा अमेरिका र पाकिस्तानको संयुक्त कारबाहीका बेला उनलाई कराची सहरबाट पक्राउ गरिएको थियो।
सन् २०१२ सम्म उनका बारे धेरै जानकारी उपलब्ध थिएन।

त्यतिखेर अफगानिस्तान सरकारले शान्ति वार्ताको कुरा गर्दा पहिले आफ्ना बन्दी मुक्त गर्नुपर्ने भन्दै तालिबानले दिने गरेको सूचीमा उनको नाम प्रमुख रूपमा हुने गर्थ्यो।
सन् २०१३ मा पाकिस्तानी सरकारले उनलाई रिहा गर्यो।
उनी तालिबानका पूर्व प्रमुख नेता मुल्लाह ओमारद्वारा सबभन्दा भरोसा गरिएका र उनका निकट सहयोगी थिए। पक्राउ पर्दा उनी तालिबानका दोस्रो सबभन्दा ठूला नेता थिए।
सन् २०१८ मा कतारमा अमेरिकासँग कुराकानी गर्न तालिबानको कार्यालय खुल्दा त्यहाँ तालिबानको राजनीतिक प्रमुखका रूपमा उनलाई खटाइयो। उनले सधैँ अमेरिकासँगको वार्ताको समर्थन गरिरहे।
इन्टरपोलका अनुसार मुल्लाह बरादरको जन्म उरुजगान प्रान्तमा सन् १९६८ मा भएको थियो। उनी दुर्रानी समुदायका भएका ठानिन्छ।
हिबतुल्लाह अखुन्दजादा
हिबातुल्लाह अखुन्दजादा अफगान तालिबानका प्रमुख नेता हुन्। उनी इस्लाम धर्मका विद्वान हुन् जो कान्दहारबाट आएका हुन्।
उनले नै तालिबानको दिशा बदलेर अहिलेको अवस्थामा ल्याइपुर्याएको ठानिन्छ।
तालिबानको गढ रहेको कान्दहारसँग जोडिएका कारण उनले तालिबान नेतृत्वमा आफ्नो पकड बनाउन सकेको ठानिन्छ।
सन् १९८० को दशकमा उनले तत्कालीन सोभियत सङ्घको विरुद्ध अफगानिस्तानमा विद्रोहका एक कमाण्डरको भूमिका खेलेका थिए।
तर उनको पहिचान एक सैन्य कमाण्डरको रूपमा भन्दा पनि एक धार्मिक विद्वानको रूपमा ज्यादा भएको पाइन्छ।
अफगान तालिबानका प्रमुख नियुक्त हुनुभन्दा पहिले पनि उनी तालिबानका शीर्ष नेताहरूमध्ये रहेका थिए। धर्मसँग जोडिएका आदेशहरू उनै दिन्थे।

उनले दोषी पाइएका हत्यारा वा अवैध यौन सम्बन्ध राख्नेहरूलाई हत्याको सजाय तथा चोरी गर्नेहरूलाई हात काट्ने सजायका आदेश दिएका थिए।
हिबतुल्लाह तालिबानका पूर्व प्रमुख मोहम्मद मन्सुरका उपप्रमुख पनि थिए।
सन् २०१६ को मे महिनामा अमेरिकी ड्रोन हमलामा मन्सुरको मृत्यु भएको थियो।
मन्सुरले आफ्नो इच्छापत्रमा हिबतुल्लाहलाई आफ्नो उत्तराधिकारी घोषित गरेका थिए।
करिब ६० वर्षका हिबतुल्लाहले जीवनको धेरै समय अफगानिस्तानमै बिताएका छन्।
हिबतुल्लाहको नामको अर्थ हुन्छः “अल्लाहको तर्फबाट प्राप्त उपहार”। उनी नुरजाई समुदायबाट आएका हुन्।

को छन् अन्य तालिबान नेता ?
तालिबानको वर्तमान नेतृत्व संरचनामा हिबतुल्लाह अखुन्दजादा शीर्ष स्थानमा छन् र उनी राजनीतिक, धार्मिक तथा सैन्य मामिलाका प्रमुख रहेका छन्।
राजनीतिक मामिला हेर्ने उनका उपप्रमुख मुल्लाह गनी बरादर हुन्।
सैन्य मामिला हेर्ने उपप्रमुख चाहिँ पूर्व तालिबान प्रमुख तथा संस्थापक नेता मुल्लाह ओमारका छोरा मुल्लाह मोहम्मद याकुब हुन्।
हक्कानी सञ्जालका प्रमुख समेत रहेका सिराजुद्दिन हक्कानी पनि हिबतुल्लाहका अर्का उपप्रमुख हुन्।
मुल्लाह अब्दुल हकीम तालिबानका वरिष्ठ न्यायाधीश हुन् र उनले तालिबानको न्यायिक संरचनाको अगुवाइ गर्छन्।
तालिबानको एउटा नेतृत्व परिषदपनि रहेको छ।
२६ सदस्य रहेको रहबारी शुरालाई तालिबानको उच्चतम सल्लाहकार परिषद् तथा निर्णायक समूह मानिन्छ।
तालिबानको काबुल यात्राः यस्तो छ समयक्रम
एप्रिल: अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा। मे महिनाबाट सुरु भएर सेप्टेम्बरसम्ममा सकिने लक्ष्य राखिएको उक्त प्रक्रियाले अमेरिकाको सबैभन्दा लामो युद्ध समापन गराउने बताइएको थियो
मे: तालिबानद्वारा दक्षिणी हेलमन्द प्रान्तमा भीषण आक्रमण। अन्य प्रान्तमा पनि आक्रमणको सुरुवात
जुन: तालिबानले ३७० मध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतको भनाइ। उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आक्रमण
२१ जुलाई: एक वरिष्ठ अमेरिकी जेनरलका अनुसार लगभग आधा जिल्लाहरू तालिबानको नियन्त्रणमा
६ अगस्ट: लडाकु समूहद्वारा जारान्ज कब्जा, तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी अफगान
१३ अगस्ट: दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा
१४ अगस्ट: उत्तरी सहर मजार-ए-शरिफमाथि तालिबानको कब्जा
१५ अगस्ट: युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा, राष्ट्रपति अशरफ गनी विदेश पलायन, राष्ट्रपति भवनमा तालिबान लडाकुहरू प्रवेश
के हो तालिबान?
अफगानिस्तानबाट सोभियत सेना फर्किएपछि सन् १९९० को दशकमा पूर्वार्धमा एउटा कट्टरपन्थी धार्मिक अभियान सुरु भयो।
अधिकांश पाश्तुन समुदायका व्यक्तिहरू संलग्न भएको तालिबान अभियानबारे सन् १९९४ मा धेरैले थाहा पाए।
साउदी अरबबाट आएको आर्थिक सहयोगमा सञ्चालित कट्टरपन्थी सुन्नी इस्लामबारे पढाइने विद्यालयहरूबाट सो अभियान सुरु भएको विश्वास धेरैको छ।
पाश्तुनहरूको बाहुल्य भएको पाकिस्तान र अफगानिस्तानका क्षेत्रहरूमा शान्ति र सुरक्षा स्थापित गर्ने वाचासहित आफ्नै इस्लामिक कानुन अर्थात् शरिया कार्यान्वयन गर्ने तालिबानको उद्देश्य थियो।
तालिबानले दुवै देशमा हत्यारा र व्यभिचारीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन थाल्यो। चोरी गरेको प्रमाणित भए अङ्गभङ्गको दण्ड दिइन्थ्यो।
तालिबानको प्रभाव भएको क्षेत्रमा पुरुषले दाह्री पाल्नै पर्ने र महिलाले पूरै शरीर छोपिनेगरी बुर्का लगाउनै पर्ने बनाइयो।
टीभी, चलचित्र र सङ्गीतमाथि प्रतिबन्ध लाग्यो। अनि १० वर्ष र त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान दिइएन।
काबुलमा तालिबान शासन
दक्षिणपश्चिम अफगानिस्तानबाट सुरु भयो तालिबानले बिस्तारै आफ्नो प्रभाव विस्तार गर्यो।
सन् १९९५ को सेप्टेम्बर महिनामा तालिबानले इरानसँग सीमा जोडिएको हेरात प्रान्त आफ्नो नियन्त्रणमा लियो। त्यसको एक वर्षपछि देशको राजधानी काबुल तालिबानको नियन्त्रण पुग्यो।
राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर तालिबान देशको सत्तामा पुग्यो।
सन् १९९८ सम्ममा अफगानिस्तानको ९० प्रतिशत भूभागमा तालिबानको नियन्त्रणमा आइसकेको थियो।
सत्तामा पुगेको सो इस्लामिक कट्टरपन्थी समूहले सन् २००१ मा बामियानस्थित बुद्धका विशाल मूर्तिहरू भत्काइदिएको थियो।
तर न्यूयोर्कमा आक्रमण भएको एक महिनाभित्रै अक्टोबर ७, २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा सैन्य कारबाही सुरु भयो। डिसेम्बर महिनाको पहिलो हप्तामा तालिबान सत्ता धराशायी भयो।
तालिबान अभियान सुरु गराएको आरोप पाकिस्तानलाई लाग्ने गरेको छ। तर इस्लामाबादले भने त्यसको खण्डन गर्दै आएको छ।
तालिबान सन् १९९० को दशकको मध्यदेखि सन् २००१ सम्म अफगानिस्तानको सत्तामा रह्यो। त्यसबेला साउदी अरब, यूएई र पाकिस्तान गरेर तीन देशले मात्र उसलाई औपचारिक मान्यता दिएका थिए।
दुई देशले तालिबानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्दा पनि पाकिस्तानले भने पछिसम्म कायम राखेको थियो।
बिन लादेनसँगको सम्बन्ध
सन् २००१ मा न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा भएको आक्रमणपछि अफगानिस्तानको शक्तिमा रहेको तालिबान समूहको चर्चा विश्वस्तरमा भयो।
न्यूयोर्कमा भएका आक्रमणको आरोप लागेका ओसामा बिन लादेन र अल-कायदालाई तालिबानले अफगानिस्तानमा सुरक्षित रूपमा बस्न सघाएको आरोप लगाइयो।
सेप्टेम्बर ११ आक्रमणपछि अमेरिकाको नेतृत्वमा तालिबानलाई सत्ताच्युत गरियो।
तर पछि तालिबानले बिस्तारै आफ्नो शक्ति बढाउँदै लग्यो र पाकिस्तानमा पनि बलियो रूपमा देखा पर्यो। एजेन्सीको सहयोगमा