
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी बनाउने बिषय बाध्यतात्मक मात्र हुने बताएका छन् ।
काठमाडौंमा नेकपा एमाले बागमती प्रदेश सम्पर्क संगठन कमिटीको प्रशिक्षण कार्यक्रममा नेता नेपालले अर्को पार्टी बनाउन चाहन्छन् भन्ने नभएर बाध्यताको कुरा मात्र भएको बताए । उँहाले अब प्रदेशदेखि तल्लो तहसम्म समानान्तर कमिटी बनाउने कामलाई तीव्र गतिमा अघि बढाइने धारणा राखे ।
नेता नेपालले एमालेभित्र रहेको गलत र अहंकारी प्रवृतिले जनविश्वास गुमेको भन्दै आफ्ना लागि मैदान खाली रहेको उल्लेख गरे ।
अपमान सहेर एकता नहुने र त्यस्तो अवस्थामा असहज बाटो लिनु बाध्यता हुने नेता नेपालको भनाई छ ।
नेता नेपालले पार्टीको प्रत्येक घटनाक्रम हेर्दा अध्यक्ष ओलीले पार्टी बिभाजन चाहेको आरोप लगाए । नेता नेपालले समाजवादको लक्ष्य बोकेको कम्युनिष्ट पार्टीले सत्तामा पुगेपछि आफ्नो जिम्मेवारी भुलेको र अवसरवादको कारणले कम्युनिष्ट आन्दोलन कमजोर बन्दै बताए ।
पार्टीभित्र ओलीले एकतर्फी रुपमा आफ्नो गतिविधि अगाडी बढाउदै लगेको र एकताका लागि गम्भीर बन्न नसकेको आरोप पनि नेता नेपालको छ ।