७ बैशाख २०८१, शुक्रबार

जताततै सडक : गाडी चल्न मुस्किल

bus

सल्यानका ८३ वटै वडामा सडक पुगेको छ ।

हिउँदमा सबैतिर सवारी साधन चल्छन् तर वर्षामा भने अधिकांश गाउँमा सवारी साधन नचल्दा बासिन्दाहरू पैदल हिँड्न बाध्य छन् ।
वर्षाले मुख्य राजमार्गको रुपमा रहेको राप्ती लोकमार्गसहित सबै सडक बिगारेपछि स्थानीयवासीले सास्ती भोग्दै आइरहेका छन् ।

पानीले कतै खोलाले सडक काटेको छ भने कतै पहिरोले सडक बगाएको छ । अधिकांश सडक सडकमै बग्ने पानीले गर्दा सडकहरू बिग्रिएको स्थानीयको भनाई ।

घर अगाडी सडक पुगे पनि आजभोलि पैदल हिँड्नुपर्ने बाध्यता रहेको स्थानीय रिम बहादुर बुढाले बताउनुभयो । १८ वर्ष अघि सल्लीबजार चौरजहारी सडकको ट्र्याक खुलेको भए पनि स्तरोन्नति नहुँदा समस्या भोग्दै आइरहेको उहाँको भनाई छ ।

सडक खन्ने नाममा जथाभाबी सडक खनिदा पनि समस्या आएको दर्मा गाउँपालिका–३ का कृष्ण बुढाथोकीले बताउनुभयो । उहाँले भन्नुभयो, “पुराना सडक कहिल्यै स्तरोन्नति हुँदैनन् । सडक निर्माणमा करोडौँ खर्च हुने गरे पनि दिगो समाधान खोजिएको पाइँदैन ।”

सडकमा नाली नबनाउनु, नाली बनाए पनि पानी बग्ने गरी नबनाउनुले पनि यात्रुले सास्ती भोग्दै आइरहेको उहाँको भनाई छ । देख्नलाई त सडक छन् , हिउँदमा धुलोले बस्न दिँदैन वर्षामा हिलोले गाडी चढ्न दिँदैन उहाँले भन्नुभयो ।