२९ मंसिर २०८२, आईतवार

वैधानिकताको संकट टार्न विषेश अधिवेशन गर्नुपर्ने कांग्रेस नेता पौडेल पक्षको सुझाव

nepali congress

नेपाली कांग्रेसको महाधिवेशन तोकिएको मितिमा हुने वा नहुने आशंका बढेका बेला जिल्ला सभापतिहरुले विषेश महाधिवेशन गर्न सुझाव दिएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको भेलाले नियमित अधिवेशन सम्भव नभए विषेश अधिवेशन गर्न समेत माग गरेका छन् ।

कांग्रेसले १४ औं महाधिवेशन आगामी भदौमा गर्ने कार्यतालिका बनाएको भएपनि क्रियाशिल सदस्यता विवादका कारण कार्यतालिकाअनुसार तत्काल तहको अधिवेशन प्रभावित भइसकेका छन् ।

साउन १२ गते वडा अधिवेशन गर्ने निर्णय गरेको कांग्रेसले सदस्यता विवाद र कोरोनाको कारण देखाउँदै वडा तहको अधिवेशन स्थगित गरिसकेको छ । त्यसबाहेक अहिलेसम्म पनि क्रियाशिल सदस्यता विवाद कायमै रहेकाले भदौमा महाधिवेशन हुने सम्भावना लगमग सकिएको छ ।

तर नेपाली काँग्रेसका संस्थापन इतरका अधिकांश जिल्ला सभापतिहरुले तोकिएको समयमा नै महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालेका छन् । वैधानिकताको संकट टार्न विशेष महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालिएको जनाइएको छ ।

जिल्ला सभापतिहरुले तोकिएको समयमा नै महाधिवेशन हुन नसके १३ औं महाधिवेशन प्रतिनिधिबाट विशेष महाधिवेशन गर्न प्रस्ताव अघि सारेका छन् । संस्थापन पक्षले भने विषेश महाधिवेशन नगर्ने अडान अघि सारेको छ ।

कांग्रेसले तोकिएको मितिमा महाधिवेशन गर्न नसक्ने अबस्था रहे निर्वाचन आयोगसँग परामर्श गरेर महाधिवेशनको अर्को मिति तोक्ने तयारी गरेको समेत जनाइएको छ ।

महाधिवेशनकै बारेमा छलफल गर्न कांग्रेसले बिहिबार केन्द्रीय समितिको बैठक समेत बोलाएको छ । जुन बैठकले क्रियाशिल सदस्यताको विवाद समाधान गर्ने र महाधिवेशनका बारेमा समेत आवश्यक निर्णय लिने जनाइएको छ ।