१८ बैशाख २०८१, मंगलवार

पार्टी सभापति को हुन्छ भन्दा पनि कांग्रेसको वैधानिकता के हुन्छ भन्ने चिन्ता छ : नेता केसी

arjun narasinha kc

नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नेपाली कांग्रेसको वैधानिकतामा प्रश्न उठ्ने दिन नआओस भनेर चिन्ता व्यक्त गरेका छन् ।

शुक्रबार भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले महाधिवेशनको अन्तिम मिति आउनै लाग्दा पनि त्यसको तयारी नभएको प्रति चिन्ता व्यक्त गरे । उनले अहिले को चुनावमा लड्छ ? को सभापति हुन्छ ? भन्दा पनि आफूलाई कांग्रेसको वैधानिकतामा माथि प्रश्न कसैले नउठाओस भन्ने चिन्ता रहेको बताए ।

आगामी भदौ २३ गतेसम्म महाधिवेशन गराइसक्नु पर्ने संवैधानिक व्यवस्था रहेको भन्दै केसीले कांग्रेसमाथि सैंवाधिन संकट निम्तिने खतरा रहेको बताए ।

कांग्रेसको विधानअनुसार महाधिवेशन गर्न नसकेर संविधानले दिएको व्यवस्था अनुसार ६ महिना म्याद थपिएको स्मरण गर्दे केसीले अब समय थप्ने कुनै पनि विकल्प नरहेको बताए । दल सम्बन्धी ऐनमा ५० हजार जरिवाना तिरेर ६ महिना म्याद थप्न सकिने नियम भएको भए पनि कांग्रेसले जरिवाना तिर्ने दिन आउनु लज्जासपद हुने भन्दै केसीले यसबारे बेलैमा सोच्न सभापतिलाई आग्रह गरेका छन् ।

कांग्रेसको वैधानिकतामा प्रश्न उठाएर अदालतमा मुद्दा पर्न सक्नेतर्फ सचेत गराउँदै केसीले यसलाई गम्भीर रुपमा लिनुपर्ने बताए ।

‘हामी ७५ वर्षमा पुग्दैछौं । सबै कार्यकर्तामा मनोवल उच्च गराएर खुसीयाली मनाउनुपर्नेमा पार्टीकै अस्तित्व के हुने हो भन्ने चिन्ता लिनुपर्ने अवस्था आउनु दुखःद हो’ उनले भने ।