
मेलम्चीमा फेरि लेदोसहितको बाढी आएपछि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पासहितको टोलीले जलाधार क्षेत्रको अवलोकन गरेको छ । अवलकोनपछि गाउँपालिकाले माथिल्लो भागमा यसअघि असार १मा बाढी आउँदा नदीमा थुप्रिएर बसेको माटो बगेर आउन थालेको अनुमान गरेको छ ।
अध्यक्ष शेर्पाका अनुसार भीमाथाङमामा थुप्रिएको माटो कटान गर्दै नदी बगिरहेको छ। ‘ठूलो पानी नपर्दा सेमत यस्तो बाढी आउँदैछ भने अझ ठूलो पानी पर्यो भने माटो कटान थप बढेर जोखिम उच्च हुनसक्छ,’ उनले भने ।
यसअघि पुरिएका माटो पनि कटान गर्दै नदी बगेको देखिएको उनले बताए । सो माटो लेदोको रुपमा बाढीमा आएको हुनसक्ने अनुमान छ । सो क्षेत्रमा विभिन्न भागमा गएको पहिरोले पहाडी क्षेत्र छिया-छिया भएको देखिएको छ ।
मेलम्चीमा लेदोसहितको बाढी बढ्दा तटीय क्षेत्रका त्रास छ । विहानसम्म थप १२ घर बर रातो पुल समेत बगाएको छ । तटीय क्षेत्रका बजारहरु जोखिममा छन् ।
अध्यक्ष शेर्पाले हेलम्बु सडक सम्पर्कबाट बिच्छेद भएको बताए । उनले विहान भएको सडक मार्ग सहज गर्न आग्रह गर्दै गृहमन्त्री बालकृष्ण खाँडसँग पनि भेटघाट गरेका छन् ।
बगायो १७ घर-टहरा
शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ।तीमध्ये नौ पक्की र आठ कच्ची रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए। उनकाअनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गएरातिको बाढीले बगाएको हो। ती घरटहरा खाली थिए।
बाढीले चनौटेको रातो पुल बगाएको छ। स्थानीयवासी हस्त पण्डितले दिनुभएको जानकारी अनुसार वाढीले आज विहान पुल बगाएको हो।मेलम्ची– ७ र ८, पाँचपोखरी– १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एकमात्र विकल्पका रुपमा यो पुल रहेको थियो। पुल बगाएसँगै अब यो भेगमा सवारीआवतजावत बन्द छ।

त्यस्तै ग्यालथुममा रहेको झोलुङ्गे पुल पनि वाढीले बगाएको छ।बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ। मेलम्ची बजारदेखिमाथि पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले बताए।
खोलामा लेदोसहितको बाढी आएको र बाढी घट्ने, बढ्ने भइरहेको उनले बताए।साथै हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा मेलम्चीबाट हेलम्बु सवारीसाधन जान नसकेको मेलम्ची नगर प्रमुख डम्बर अर्यालले बताए।
