
गोरखा नगरपालिका ९ लक्ष्मीबजारको खोलडाँडामा निर्माणाधीन पोखरीमा डुबेर १३ वटा बाँदर मरेका छन् ।
शिखर डाँडाको पोखरीमा पानी खेल्ने क्रममा डुबेर ती बाँदरले ज्यान गुमाएका हुन्। बजार क्षेत्रमा आगलागी भएमा दमकललाई पानी भर्न सजिलोका लागि बनाइएको उक्त पोखरी ती बगाले बाँदर मंगलबार डुबेका हुन्।
निर्माण हुँदै गरेको पोखरीमा केही दिनअघिको वर्षाका कारण झण्डै आधा मिटर जति पानी जम्मा भएको स्थानीय गणेश थापाले बताउनुभयो ।

पानी खान एउटा बाँदर पसेको, तर पानीमा डुबेर कराएपछि अरु बाह्रवटा बाँदर पसेर मरेका हुन् । त्यसपछि अन्य बगाले बाँदर पनि त्यहाँ डुब्दै गए। ती सबै बाँदर पोखरीबाट निस्कन नसकेपछि ज्यान गुमाएका हुन्।
कुकुरले लखेटेपछि भाग्ने क्रममा पोखरीमा पसेको अनुमान गरेका छौँ’ उहाँले भन्नुभयो, ‘पोखरीको भित्री भागमा प्लाष्टर गरिएको रहेछ, चिप्लो भएका कारण डुबेका बाँदर बाहिर निस्किन पनि सकेनछन् ।’
स्थानीय बासिन्दाले डुबेर मरेका बाँदरलाई पोखरीबाट बाहिर निकालेका छन् । मरेका बाँदरलाई खाल्डो खनेर गाडिएको अर्का स्थानीय कृष्ण पुडासैनीले बताउनुभयो ।
यसअघि गत साउनमा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका-१३ स्थित महाकालेश्वर मन्दिर छेउको पोखरीमा १६ वटा बाँदर पोखरीमा डुबेर एकैसाथ मरेको घटना पुरानो भएको छैन।
पोखरीमा हाम्फालेर छटपटाइरहेका ९ बाँदरलाई स्थानीयले निकालेका थिए। त्यहाँ पनि गोरखामा जस्तै पहिले एउटा बाँदर हामफाले पछि अन्यले क्रमशस् हामफाल्दै पोखरीमा पस्दा डुबेर ज्यान गुमाएका थिए।