
विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भइ भारतमा फरार भएका एक जना पेस्तोलसहित विराटनगरबाट पक्राउ परेका छन् । भारतका मोस्ट वान्टेडको फरार सूचीमा रहेका जोगबनी नगर पञ्चायत–९ इन्द्रा नगरका ४१ वर्षीय पप्पु कुमार पटेल पेस्तोल र लागूऔषधसहित विराटनगरमा पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट रानी विराटनगरका सशस्त्र प्रहरी निरीक्षक मौसम पोखरेलको कमाण्डमा खटिएको टोलीले विराटनगर–१६ हुलास चौक दक्षिणगेट नजिकदेखि पप्पुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले पप्पुको साथबाट एक थान पेस्तोल र अवैध लागूऔषध बरामद गरेको छ । सशस्त्र प्रहरी निरीक्षक पोखरेलले पेस्तोल र लागूऔषधसहित सीमा (जङ्गे सीमा स्तम्भ १८० नम्बर) नजिक डम्पिङ साईटको बाटो भएर नेपाल आउने क्रममा बुधबार राती साढे १० बजे पप्पु पक्राउ गरेको बताउनु भयो ।
प्रहरीले शंका लागेपछि चेकजाँच गरेको र उनले बोकेको प्लाष्टिकको झोलादेखि पेस्तोल र लागूऔषध बरामद गरेको थियो । सशस्त्र प्रहरीले कटुवा पेस्तोल र दुई वटा कालो प्लास्टिकको झोलामा राखेको लागुऔषध एभिल इन्जेक्सन २ सय ९२ एम्पुल र लुपिजेसिक इन्जेक्सन २ सय ९५ एम्पुल बरामद गरेको बताएको छ । पक्राउ परेका पप्पुले यसअघि भारतीय व्यापारीहरूसँग पेस्तोल देखाएर चन्दा असुली गरेको आरोप छ । यसअघि पनि पप्पुले भारतमा विभिन्न अपराध गरि फरार थिए । उनले भारतमा व्यापारीलाई धम्काउनेदेखि चन्दा असुलीसम्मको अपराधिक धन्दा चलाएर प्रहरीमा परेको उजुरी धेरै रहेको छ । त्यही भएर पप्पु भारतीय प्रहरीको मोस्ट वान्टेट सूचीमा रहेको सुरक्षा स्रोतले जानकारी दियो ।