१८ बैशाख २०८१, मंगलवार

राष्ट्रिय सभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

debendra dahal

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले समसामयिक तथा देशमा उत्पन्न राजनीतिक अवस्थाले पारेको प्रभावका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

बैठकको विशेष समयमा सांसद देवेन्द्र दाहालले महामारीका रुपमा फैलिरहेको कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गरिरहेको भए पनि अन्य दलहरूले सरकारलाई जस दिन नसकेको बताउनुभयो ।

उहाँले विपक्षी र अन्य दलहरूसँग निर्वाचनमार्फत जनतामा जाने बाटो खुला हुँदा हुँदै विपक्षी दलहरू त्यता जानुभन्दा मुद्दा मामिलाको बाटोमा हिँडेको आरोप समेत लगाउनुभयो ।

सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक र नैतिक रुपमा असफल भइसकेको भन्दै उहाँकै दम्भका कारण देशमा अहिलेको अवस्था सिर्जना भएको बताउनुभयो ।

सांसद नारायणकाजी श्रेष्ठले सरकारले एक पछि अर्को प्रतिगामी कदम चाल्दै देश प्रतिगमनमा धकेल्न खोजिरहेको भन्दै प्रतिगमनलाई हर हालतमा परास्त गरिछाड्ने बताउनुभयो ।

उहाँले राष्ट्रिय सभा तत्काल अन्त्य गर्ने तर्फ कसैले पनि सोच्नु नहुने र प्रतिनतिनिधि सभा नभएको अवस्थामा जनताको आवाज बोल्ने थलोको रुपमा राष्ट्रिय सभालाई विकास गर्नु पर्नेमा जोड समेत दिनुभयो ।

शेखरकुमार सिंहले मनसुन सुरु भएसँगै आउन थालेको बाढीले तराईका विभिन्न भागमा क्षति पुर्‍याउन सुरु गरेकाले क्षति न्यूनीकरण र पीडितलाई राहत दिने तर्फ समयमा नै सरकारको ध्यान जानु आवश्यक रहेको बताउनुभयो ।

बैठकमा सांसदहरुले मनसुनको सुरुवातसँगै देश विभिन्न भागमा काढी पहिरो र डुबानको समस्या उत्पन्न भइरहेकाले यस्ता समस्या न्यनिकरण गर्न उचित र व्यवस्थित बसोबासको विकास, वैज्ञानिक सडक निर्माण तथा पूर्वाधारको विकासलाई समयमा नै ध्यान दिनु पर्ने बताउनुभयो ।

बाढी पहिरो र डुबानबाट क्षति पुगेका पीडित परिवारलाई राहत र उद्धारमा समयमा नै ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।