१२ बैशाख २०८१, बुधबार

राष्ट्रियसभा बैठकमा सत्तपक्ष र प्रतिपक्षी सांसदहरुबीच घोचपेच

National Assembly Nepal
फाइल फोटो

राष्ट्रिय सभा बैठकमा सांसदहरुबीच घोचपेच भएको छ । सभाको सोमबार दिउँसो बसेको बैठकमा सत्तापक्षका सांसदले सरकारको राम्रो कामको प्रशंसा गर्नुभयो भने विपक्षी दलका सांसदले सरकारको कामको विरोध गर्नुभयो ।

सत्तारुढ दल नेकपा (एमाले) का सांसद देवेन्द्र दाहालले बाढी पहिरो पीडितहरुको राहत पुनस्र्थापनामा सरकार बेखबर रहन नहुने बताउनुभयो । राष्ट्रियसभा र प्रतिनिधिभास एकअर्कासँग लुकामारी खेलेजस्तो अवस्था आएको धारणा राख्नुहुँदै उहाँले दुवै सदन चल्दासम्म आवश्यक कानुन निर्माण हुन नसक्ने बताउनुभयो । प्रधानमन्त्री बनाइदिनुप¥यो भनेर नेताहरु राष्ट्रपतिकहाँ धाइरहेको स्वाभाविक रहे पनि अदालतमा जानु आश्चर्यजनक भएको उहाँले बताउनुभयो ।

“अदालतमा बुझाइएका हस्ताक्षर कति सही र कति कीर्ते गरी बुझाइएको हो त्यो इतिहासले समीक्षा गर्ला” भन्नुहुँदै सांसद दाहालले भन्नुभयो, “प्रतिपक्षी दलको सोचाइ कस्तो हो ? सरकारले राम्रो काम गरेको देख्दै नदेख्ने, विरोधमात्र गरिरहने ?” कोभिडको विषयमा सरकारले थुप्रै राम्रो काम गरे पनि विपक्षीले कहिल्यै ‘राम्रो’ भन्न नसकेको टिप्पणी गर्नुभयो ।

निर्वाचनमा जानु निरङ्कुश कदम कुनै हालतमा नभएको चर्चा गर्नुहुँदै सांसद दाहालले भन्नुभयो, “आज प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने निर्वाचन निरङ्कुश हुन्छ भने भोलि शेरबहादुर देउवाले गर्ने निर्वाचन किन निरङ्कुश नहुने ?” प्रधानमन्त्री बन्न पाउँ भनेर अदालतमा गएर के पाउनुभयो ? निर्वाचनमा गएको भए दुई चार सिट त पाउनुहुन्थ्यो नि सांसद दाहालले भन्नुभयो ।

नेपाली काँग्रेसका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री ओलीले दुईपल्ट प्रतिनिधिसभा विघटन गरेर आफूलाई असफल बनाइसक्नुभएको टिप्पणी गर्नुभयो । सरकारले चीनबाट खरिद गर्न लागेको भेरोसेल खोप पारदर्शीरुपमा खरिद हुनुपर्ने उहाँले माग गर्नुभयो । प्रतिनिधिसभा विघटन गरेर सरकारले अध्यादेशमार्फत मुलुक सञ्चालन गर्न खोजेको उहाँले आरोप लगाउनुभयो । सांसद रायमाझीले बैठकमै आफूले लगाएको कालो टोपी विरोधस्वरुप प्रदर्शन पनि गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का सांसद नारायणकाजी श्रेष्ठले सरकारले प्रतिगामी कदम चालिरहेको भए पनि आफूहरुले त्यसलाई सफल हुन नदिइने चेतावनी दिनुभयो । चालु अधिवेशन तत्काल अन्त्य नगर्न आग्रह गर्नुहुँदै सांसद श्रेष्ठले प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रियसभा बैठक नियमित चल्नुपर्ने माग गर्नुभयो । प्रतिगमनको छिटा राष्ट्रिय सभा बैठकमा पनि पर्न लागेको टिप्पणी गर्नुहुँदै सांसद श्रेष्ठले त्यसो गर्नु उपयुक्त नभएको बताउनुभयो । देश अहिले अत्यन्तै सङ्कटबाट गुज्रिरहेको चर्चा गर्दै सांसद श्रेष्ठले लोकतन्त्र र संविधानको रक्षाका लागि सबैलाई सचेत हुन आग्रह गर्नुभयो ।

एमाले सांसद कोमल ओलीले नेपालको जलस्रोतसँग नेपाली जनतालाई जोड्न नसकिएको बताउनुभयो । नेपाली शिक्ष नीति पनि नेपाली भूगोल अनुरूप नभएको चर्चा गर्नुहुँदै सांसद ओलीले भन्नुभयो, “के यो सब तीनवर्षे सरकारले गरेको हो ? कहाँ थिए पूर्व प्रधानमन्त्रीहरु ? के यो तीन वर्षे सरकारको मात्र काम हो ?” पद, प्रतिष्ठा र पैसाका लागि जे पनि गर्ने विकृति नेपाली राजनीतिक दलका नेताहरुमा रहेको चर्चा गर्नुभयो । एउटा दलका सांसदहरु अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउने अभियानमा लाग्नु संसदीय व्यवस्था प्रतिकूल भएको उहाँले बताउनुभयो ।

सांसद डा. खिमलाल देवकोटाले आफूलाई राष्ट्रियसभा सदस्यमा निर्वाचित गराउन सहयोग गर्ने सबै दलका प्रतिनिधिलाई धन्यवाद व्यक्त गर्नुभयो । सङ्घीयता कमजोर हुने काम कसैले गर्न नहुने भन्दै सांसद देवकोटाले भन्नुभयो, “सङ्घीयता कमजोर हुनु भनेको मुलुकको समावेशी व्यवस्था कमजोर हुनु हो ।”

बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद शेखरकुमार सिंह, अन्य सांसदहरुमा उदया शर्मा पौडेल, विमला राई पौडेल, सांसद रामलखन चमार, दीर्घनारायण पाण्डे, सांसद खिमप्रसाद विश्वकर्मा, सांसद मृगेन्द्रकुमार सिंह यादव, सांसद चक्रप्रसाद स्नेहीलगायतले धारणा राख्नुभएको छ ।