
बाढी पहिरोले मनाङका सयौं घर डुबानमा परेका छन् । बस्ती नै डुबानमा पर्दा मनाङका धेरै गाउँ सम्पर्कविच्छेद हुन पुगेका छन् ।
जिल्ला प्रशासन कार्यालय मनाङ प्रमुख विष्णु लामिछानेले मनाङका विभिन्न गाउँपालिका गरेर ६० घरभन्दा बढी डुबानमा र क्षतिग्रस्त हुन पुगेको जानकारी दिए । उनले भने ‘मनाङभरि कति घर क्षतिग्रस्त भएका छन् पूरा तथ्यांक आउनै बाँकी छ ।
तर, अहिलेसम्मको जानकारीअनुसार धारापानीको इलाका प्रहरी कार्यालय र गाउँपालिकाको कार्यालय नै क्षति पुर्याएको छ,’। मनाङ जिल्लालाई पनि ठूलो क्षति पुर्याएको छ ।
मनाङ सदरमुकाम चामेबजार वरिपरिका २ वटा खोलाको बहाव बढ्दा ६ भन्दा बढी घर मंगलबार नै बगाइसकेको छ भने उक्त बजारका बासिन्दाहरु विस्थापित हुनु परेको छ । सीडीओ लामिछानेले ताल गाउँमा ३० घर, चामेमा ४८, धारापानीमा २ सरकारी कार्यालयसहित १५ घर डुबानमा परेको जानकारी दिए । लगातारको बर्षातका बस्ती डुबानमा पर्दा विद्युत आपूर्तिसमेत बन्द भई मनाङका धेरै ठाउँ सम्पर्कविहीन बन्न पुगेको छ ।


