१३ बैशाख २०८१, बिहीबार

राप्तीमा नदीमा पानीको सतहले खतराको विन्दु पार, साइरन बजाइयो, हाइ अर्लट जारी

rapti nadi

गत दुई दिनदेखि भएको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले सतर्कताको विन्दु पार गरेपछि बाँकेको तटीय क्षेत्रका दर्जनौ गाउँ डुबानको उच्च जोखिममा परेका छन् ।

कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जलसतह खतराको विन्दु (पाँच मिटर) पार गरिसकेकोले नदी वरिपरिका दर्जनाँै गाउँ उच्च जोखिममा परेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, दाङ, रोल्पा, प्यूठानमा लगातार पानी परेकाले नदीको सतह बढेको हो । बुधवार बिहानैबाट नदी क्रमिक रुपले बढ्दै गएको छ । नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेकोले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

सुचना अधिकृत ज्ञवालीले पानीको सतह बढेपछि अगैयास्थित राप्ती नदीमा बाँधिएको सिक्टा सिँचाईको व्यारेजको सबै ढोका खोलिएको बताउनुभयो ।

राप्ती नदीको बाढी तल्लो तटिय क्षेत्रमा आईपुग्न करिव चार देखी ५ घण्टा समय लाग्ने अनुमान गरिन्छ । कुसुममा पानीको सतह पाँच मिटर पुग्ने बित्तिकै खतरा स्वरुप नदी छेउछाउमा साइरन बजाइन्छ । नदीको सतह ५ मिटर ४० सेन्टिमिटर पुग्ने वित्तिकै राप्ती नदी आसपासका दर्जनौं गाउँ डुब्ने गरेका छन् ।

भारतले अन्र्तराष्ट्रिय नियम विपरित लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रुपले बग्न नपाउँदा नेपाली भूभाग राप्ती नदीमा पानीको सतह बढ्दा राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दा विगत धेरै वर्षदेखि वर्सेनि डुबानमा पर्दै आएका छन् ।

उता, बर्दियाको सीमानामा रहेको मान खोलामा पनि पानीको सतह खतरा नजिक पुगेपछि सो क्षेत्रमा पनि उच्च सतर्कता अपनाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

राप्तीपारी हाई अलर्ट जारी नदीको सतह बढेर ५.२ मिटर पुगेपछि राप्तीपारीको उच्च जोखिममा रहेका क्षेत्रहरुमा हाई अलर्ट जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो ।

उहाँले जोखिमका क्षेत्रबाट स्थानीयलाई उच्च क्षेत्रमा जान आग्रह गरिएको र ती सबै ठाउँमा सुरक्षा निकायका तीनवटै निकायलाई तयारी अवस्थामा राखिएको बताउनुभयो ।

आवश्यक परेमा हेलिकोप्टर लगायतलाई पनि तयारी अवस्थामा राखिएको प्रजिअ गेलालले बताउनुभयो ।