
नेकपा एमालेबाट केपी शर्मा ओली सरकारमा सहभागी भएका चार जनाबाहेक अरु सबै मन्त्री पदमुक्त हुने भएका छन्।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आज मन्त्रीमण्डल व्यापक रुपमा हेरफेर गर्दैछन्। प्रधानमन्त्री ओलीले आफ्नो सरकारमा आज तीन उपप्रधानमन्त्री नियुक्त गर्ने भएका छन्।
त्यस क्रममा एमालेबाट अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, कानुनमन्त्री लीलानाथ श्रेष्ठ र शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ बाहेक अन्य सबै मन्त्री पदमुक्त हुन लागेका एक उच्च स्रोतले जनाएको छ।
प्रधानमन्त्री निकट स्राेतका अनुसार ओलीले आजै अर्थमन्त्री पौडेल, एमाले नेता रघुबीर महासेठ र जसपा नेता राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाउँदैछन्।
एमालेबाट ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, शिवमाया तुम्बाहाङ्फे, पदमाकुमारी अर्याल, गणेश सिंह ठगुन्ना, जुली कुमारी महतो, प्रेमबहादुर आले, पार्वत गुरुङ, भानुभक्त ढकाल पदमुक्त हुने सूचिमा रहेको श्रोतले जनाएको छ ।
अहिले एमाले महासचिव ईश्वर पोखरेल उपप्रधानमन्त्री छन् । आजै प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीबाट १० जना मन्त्रीलाई पनि नियुक्त गरी शपथ खुवाउँदै छन्।