नेपाललाई आगामी साता डब्ल्यूएचओले स्वास्थ्य सामग्री पठाउने
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको कारण अहिले समस्यामा रहेका दक्षिण–पूर्वी एसियाली मुलुकहरुलाई ३४० मेट्रिक टनभन्दा धेरै स्वास्थ्य सामग्री प्रदान गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ ।
अबको केही सातामा नेपाल, भुटान, माल्दिभ्स र श्रीलंकालगायतका मुलुकमा आवश्यक स्वास्थ्य सामग्री पठाइने डब्ल्यूएचओले बताएको छ ।
डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाकी क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले भनिन्, ‘हजारौं अक्सिजन कन्सन्ट्रेटर, टेस्टिङ किट्स, अस्पतालको बेड, टेन्ट र पीपीईहरु अहिले पाइएको सहयोगका मुख्य सामग्री हुन् । ती सामग्रीहरु विभिन्न मुलुकहरु र सबैभन्दा धेरै आवश्यकता भएको क्षेत्रमा पठाइएको छ ।’
पछिल्लो साता कोरोनाबाट समस्यामा परेको भारतमा पठाइएको स्वास्थ्य सामग्रीहरु मुलुकका विभिन्न २६ राज्यमा पुगेका छन् । गत साता चार हजार अक्सिजन कन्सन्ट्रेटर, १२० टेन्ट, चारसय मेडिकल बेड, १२ लाख रेस्पिरेटर मास्क र ६ लाख ५० हजार स्याम्पिलिङ किट्स भारत पठाइएको थियो ।
अहिले डब्ल्यूएचओले बंगलादेशमा ६० मेट्रिक टनको स्वास्थ्य सामग्रीहरु पठाएको छ ।