७ बैशाख २०८१, शुक्रबार

बुटवलको सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग निर्माणका लागि टेण्डर आह्वान

sidhababa jokhim 1

नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन आइतबार टेण्डर आह्वान गरेको छ । एउटा डबल लेनको हाइवे टनेल, रक शेड संरचना, रक फल मिटिगेशन र सुरुङमार्गको सडक निर्माणका लागि मन्त्रालयले ग्लोबल टेण्डर आह्वान गरेको हो ।

मन्त्रालयअन्तर्गतको सडक विभागका प्रवक्ता ई. शिवप्रसाद नेपालले सुरुङमार्ग निर्माण प्रक्रियामा प्रवेश गरेको बताउँदै असार २३ गते दिउँसो १२ बजेभित्रै योग्य निर्माण कम्पनीहरुलाई बोलपत्र आह्वान गरिएको जानकारी दिए । सुरुङमार्ग निर्माणका लागि सरकारले यसअघि स्वीस सरकारको सहयोगमा सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरिसकेको छ भने अर्थमन्त्रालयले अघिल्लो बर्ष नै १० अर्ब १५ करोड रुपैयाँ बजेट सुनिश्चितता पनि गरिसकेको छ ।

पहिरोको उच्च जोखिमको क्षेत्र रहेकाले सिद्धबाबा सडकमा लामो समयसम्म सुरुङमार्ग निर्माण गर्ने चर्चा चलेको भएपनि पहिरो न्यूनिकरणका अन्य सम्भाव्यताहरुको समेत अध्ययन भइरहेकाले सुरु भएको थिएन । तर अवभने निर्माण प्रक्रियाको औपचारिक थालनी भएको मन्त्रालयले जनाएको छ । सुरुङमार्ग निर्माण गर्न कम्तिमा ८ अर्ब रुपैयाँ लाग्ने स्वीस अध्ययनले देखाएको थियो । निर्माण सम्पन्न गर्नेबेलासम्म यसको लागत थप बढ्ने अनुमान गरिएको छ । सोही अनुसार नै टेण्डर आह्वान गरिएको सडक विभागका प्रवक्ता नेपालले जानकारी दिए ।

भारत सरकारको सहयोगमा झण्डै आधा शताब्द्यी अघि निर्माणकार्य पूरा भएको सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड (बुटवलको चिडिया खोलादेखि दोभानसम्म) सात किलोमिटर अत्यन्त जोखिमयुक्त सडक हो । अहिले सुरुङमार्ग बाहेक एशियाली विकास बैंकको सहयोगमा सिद्धार्थ राजमार्गको स्तरोन्नतीको काम पनि भइरहेको छ । त्यस्तै सडक विभागले बर्तुङ–तमघास खण्डको समेत स्तरोन्नती गरिरहेको छ ।

    सम्बन्धित समाचार...