१८ बैशाख २०८१, मंगलवार

सुनसरीमा दुई सय ७० सवारी साधन कारवाहीमा

sunsari chwok scaled

जिल्ला प्रहरी कार्यालय सुनसरीले शनिबार अटेर गरी सडकमा गुडाइएका २७० सवारी साधन नियन्त्रणमा लिई कारवाही गरेको छ ।

निषेधाज्ञाको समयमा लगाइएको जोर बिजोर प्रणाली नमानी गुडाइएका सवारी नियन्त्रणमा लिई कारवाही गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो । पहिलो दिन धेरैजसोलाई सम्झाइबुझाई छाडिएको उहाँले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएका सवारी साधनमा मोटरसाइकल २०७, तीन पाङग्रे ५८ र चार पाङग्रे पाँच वटा नियन्त्रणमा लिइएको छ । इनरुवाको महेन्द्रचोक क्षेत्र सिल सुनसरी प्रशासनले शनिबार इनरुवा–३ स्थित महेन्द्रचोक क्षेत्र सिल गरेको छ । तीन दिनको अवधिमा कोरोना सङ्क्रमणबाट एकै परिवारका दुईको मृत्यु र सात जना सङ्क्रमित भएपछि तत्काललाई सो क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।

अर्को सूचना जारी नभएसम्मका लागि महेन्द्रचोक क्षेत्र सिल गरिएको उहाँले जानकारी दिनुभयो । सङ्क्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै सिल गरिएको प्रजिअ ढकालले बताउनुभयो । चोक क्षेत्र सिल गराउन नगर प्रमुख राजन मेहता स्वयं सो स्थान पुग्नुभएको थियो ।

जोखिम बढेकाले सिल गर्ने निर्णयमा पुग्नुपरेको भन्दै विषम परिस्थितिमा घरमै बसी कोरोना नियन्त्रणमा सघाउ पुर्याउन नगरवासीलाई उहाँले आग्रह गर्नुभयो ।