नेकपाको दाहाल–नेपाल समूहको फागुन १५ गतेसम्मका लागि विरोधका थप कार्यक्रम सार्वजनिक
प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले यही फागुन १५ गतेसम्मका लागि जनपरिचालनलगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।
सो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार यही फागुन ५ गते टुँडिखेल वरिपरि मानवसाङ्लो प्रदर्शन गरिने छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार त्यस दिन अपराह्न ४ बजेदेखि ५ बजेसम्म मानवसाङ्लो प्रदर्शन गर्न लागिएको हो । प्रवक्ता श्रेष्ठका अनुसार यही फागुन ७ गते देशव्यापी रुपमा वडास्तरीय विरोध कार्यक्रम हुनेछ भने फागुन ७ देखि १५ गतेसम्म संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिकस्थलमा हस्ताक्षर सङ्कलन गरिनेछ ।
यही फागुन ९ गते महिला हिंसा, हत्या एवं बलात्कारकाविरुद्ध देशव्यापी महिलाको विरोध प्रदर्शन गरिनेछ । फागुन १२ गते चितवन, २१ गते दाङ र जनकपुर, नेपालगञ्जलगायत शहरमा विरोध प्रदर्शन र जनसभा तय गरिएको उहाँको भनाइ छ ।