१८ बैशाख २०८१, मंगलवार

दुर्घटनाका घाइतेलाई नदेखी हुइँकिए मुख्यमन्त्री

पश्चिम राजमार्गको बेलबारी नगरपालिका–४ हुल्लुडेमा आज दिउसो करिब साढे ३ बजे स्कुटर दुर्घटना हुँदा बेलबारी नगरपालिका ११ का ४३ वर्षीय अर्जुन खत्री र सोही स्थानका ६३ वर्षीय दुर्गा भण्डारी घाइते भएका छन ।

सोही समय उक्त बाटो हुँदै बेलबारीका जनक पोखरेल घरबाट लक्ष्मीमार्ग तर्फ जाँदै गर्दा स्कुटर दुर्घटनामा परेका दुईजना सडकमै लडिरहेको देखे । लगत्तै इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषिराज ढकाललाई फोन गर्दा उनको फोन उठेन ।

प्रहरी निरिक्षक कांग्रेसको विरोध सभाको सुरक्षाका लागि पुगेका भएर फोन सम्पर्क हुन सकेन । प्रहरीको फोन नउठेपछि दाजुलाई फोन गरेर ट्राफिक प्रहरी बोलाइदिन भने ।

घाइतेको उपचारको लागी राजमार्गमा गाडी रोक्ने प्रयास गरेपनी सफलता हात लागेन । यत्तिकैमा साइनर बजेको सुनेर एम्बुलेन्स ठानेर हेर्दा प्रहरीको गाडी भने देखे । प्रहरीको भ्यान पछाडि भीआईपी सवार गाडी र पछुवा गाडीको रुपमा सशस्त्र प्रहरीको भ्यान देख्दा घाइतेलाई अस्पताल पठाउन सकिन्छ भन्ने लागेपछी जनकले रोक्ने प्रयास गरे तर सवारी रोकिएन ।

‘चाडो अस्पताल पुर्‍याउन सकिन्छ कि भनेर कोशिस गरेँ । तर साइरनवाला गाडीले सुन्दै सुनेन’ जनकले भने ‘पछि थाहा पाए मुख्यमन्त्रीको सवारी रहेछ ।’ मुख्यमन्त्रीको सवारी भएको करिब १० मिनेटपछि मात्र प्रहरी आएर उद्धार गरेको उनले बताए । जनक भन्छन्, ‘उहाँले उद्धार नगरेपनि अगुवा पछुवालाई भनेको भए समयमा नै अस्पताल पुर्‍याउन सकिन्थ्यो ।’ मुख्यमन्त्री शेरधन राई झापाको कार्यक्रमबाट फर्कदै गर्दा उनलाई इलाका प्रहरी कार्यालय पथरीको गाडीले स्कर्टिङ गरेर ल्याएको थियो ।

उनीहरुमध्ये खत्रीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको बताइएको छ। उद्धारमा ढिलाई भएकाले घाइते मध्ये खत्रीको निधन भएको भन्दै मुख्यमन्त्री राईको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

सामाजिक सञ्जालमा जनप्रतिनिधि भएर मानवीयता नदेखाएको भन्दै मुख्यमन्त्री राईको आलोचना भइरहेको छ।

अर्का घाइते भण्डारीको उपचार भइरहेको प्रहरीले जनाएको छ।