१४ बैशाख २०८१, शुक्रबार

विभाजित नेकपाका दुबै समूहको केन्द्रीय समिति बैठक बस्दै

Oli Dahal
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुवै समूहको छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक आज बस्दैछ । दुवै समूहले एउटै समयमा तर, फरक स्थानमा बैठक राखेका छन्। केपी ओली समूहको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा र दाहाल-नेपाल समूहको बैठक बबरमहलस्थित पार्टी प्यालेसमा बोलाइएको छ।

प्रधानमन्त्री ओली समूहको बैठक आज दिउँसो १ बजे बालुवाटारमा बस्दैछ। त्यसैगरी दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक पनि सोही समयमा बबरमहलमा बस्दै छ।

बालुवाटारमा बस्ने ओली पक्षको केन्द्रीय कमिटी बैठकले प्रदेश तथा जिल्ला भेलाहरुको कार्ययोजना सार्वजनिक गरेर कार्यकर्ता माझ जाने निर्णय गर्न सक्ने एक केन्द्रीय सदस्यले बताए। हिजो मात्र उक्त समूहले प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो।

ओली समूहको बैठकमा महाधिवेशन तयारी लगायतका विषयमा कुराकानी हुने बताइएको छ । सो समूहले मंगलबार विधान तथा पार्टी प्रवक्ता परिवर्तन गरेको थियो ।

त्यसैगरी बबरमहलमा बस्ने दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठकले महासचिवबारे निर्णय गर्ने जनाइएको छ। अहिले उक्त समूहमा रहेका पूर्व एमाले पक्षका नेताहरु आन्तरिक छलफलमा छन्।

दाहाल-नेपाल समूहले दुई अध्यक्ष पुष्पकमल दाहाल र माधब नेपालको बरियता तोक्ने र प्रधानमन्त्रीको कदमविरुद्ध आन्दोलन अघि बढाउने विषयमा छलफल गर्ने बताइएको छ । साथै पार्टी पदाधिकारीसमेत चयन गर्ने तयारी छ ।

पूर्व एमाले समूहमा महासचिव छनोटको विषयलाई लिएर विवाद देखिएको छ। महासचिव विष्णु पौडेल ओली समूहतिर रहेपछि यो समूहबाट महासचिव हुने संभावना धेरै छ। पूर्व माओवादीबाट प्रवक्तामा नारायणकाजी श्रेष्ठ यथावत छन्।

पूर्व समूहका नेता सुरेन्द्र पाण्डेले आफूहरु अहिले आन्तरिक छलफलमा रहेको बताए। महासचिवका लागि यो समूहबाट भीम रावल, सुरेन्द्र पाण्डे तथा पूर्व माओवादी समूहबाट जनार्दन शर्मा र वर्षामान पुन आंकाक्षी छन्।

दुबै समूहले आफुलाई आधिकारिक दावी गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । दुबैले चुनाव चिन्ह सूर्यमा दावी पेश गरेका छन् । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधिन छ ।