१८ बैशाख २०८१, मंगलवार

डेपुटी गभर्नर श्रेष्ठमाथि छानबिन गर्न समिति गठन

Shiva Raj Shrestha

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ छानबिनको घेरामा परेका छन् । श्रेष्ठमाथि छानबिन गर्न समिति गठन गरिएको छ । सोमबार गभर्नर डा. चिरञ्जीवी नेपालको अध्यक्षतामा बसेको राष्ट्र बैंक बोर्ड बैठकले ३ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

श्रेष्ठ माथि छानविन गर्न राष्ट्र बैंक सञ्चालक समिति सदस्य श्रीराम पौड्यालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको एक सञ्चालकले जानकारी दिए । पौड्यालको संयोजकत्वमा गठित समितिमा राष्ट्र बैंककै सञ्चालकद्वय सुवोधकुमार कर्ण र रामजी रेग्मी सदस्य छन् ।

यो समितिले प्रतिवेदन बुझाएपछि सोही प्रतिवेदनका आधारमा आवश्यक कारवाही हुने बताइएको छ । २०७२ फागुनमा श्रेष्ठ नेपाली काँग्रेस कोटामा डेपुटी गभर्नर बनेका थिए । श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरण अनुसनधानमा सरकारलाई असहयोग गरेको, बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा लुकाउन सहयोग गरेको लगायतका आरोप छ । तर श्रेष्ठले भने उनीमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । गभर्नरको लाइनमा रहेकाले त्यसबाट रोक्न षड्यन्त्र गरिएको उनको दाबी छ ।