गाडी किन्ने पैसाले एम्बुलेन्स किन्दै बराहपोखरी गाउँपालिका
खोटाङको बराहपोखरी गाउँपालिकाले गाडी किन्ने बजेटले एम्बुलेन्स खरीद गर्ने भएको छ । अन्य स्थानीय तहहरुले कार्यालय प्रयोजनका लागि स्थानीय तह कार्यान्वयनसँगै गाडी किन्दा मोटरसाइकलले कामकाज गरिरहेको यस गाउँपालिकाले भने पालिकाबासीको स्वास्थ्य संवेदनशिलतालाई ध्यान दिई एम्बुलेन्स खरीद गर्ने भएको हो ।
चालू आर्थिक वर्ष २०७७-०७८ मा चारपाङग्रे सवारी साधनको सट्टा यहाँको जनताको जीवनस्तर हेरी जनस्वास्थ्यको संवेदनशिलतालाई ध्यान दिई भाडाको सवारी साधन प्रयोग गर्दा परेको समस्यालाई मध्यनजर गरी सहज उपचार सेवा दिलाउने उद्देश्यका साथ विभिन्न स्वास्थ्य केन्द्रहरुसम्म पुग्नका लागि एम्बुलेन्स खरीद गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताउनुभयो ।
गाउँपालिकामा कोही बिरामी परेमा उपचारका लागि गाडीमार्फत सदरमुकाम लान मात्रै झण्डै दुई दिन लाग्छ । सदरमुकाम लैजानभन्दा तराई जान छिटो हुने र बिरामीलाई भाडाको गाडीमार्फत पठाउँदा आर्थिक भार परेकाले गाउँपालिका अध्यक्ष÷उपाध्यक्षलाई कार्यालय प्रयोजनका लागि गाडीभन्दा जनताका लागि एम्बुलेन्स आवश्यक देखिएकाले खरीद गर्ने निर्णय गरिएको अध्यक्ष बञ्जराले बताए ।
स्थानीय तह कार्यान्वयन भएदेखी नै गाडीका लागि बजेट नछुट्याएको गाउँपालिकाले एम्बुलेन्स खरीदका लागि भने आवश्यक बजेटको व्यवस्था गरेको छ ।
६ वडा रहेको गाउँपालिकाका स्थानीय बिरामी हुँदा हिउँदमा उदयपुरको गाईघाट तथा तराइका अन्य क्षेत्रमा लगेर उपचार गराउनुपर्ने ती भेगका स्थानीयको बाध्यता हो ।
बर्खामा भने मौवाबोटे र पौवासेराकाले बंशिलाघाट तथा साउनेचउर, फाक्टाङ र सुन्तलेकाले धाप्लाङघाटसम्म बिरामी पुर्याएर पारीबाट अर्को गाडी भाडामा लिएर उपचारमा पठाउनुपर्ने पीडा छ ।
‘आफूहरु स्कारपीयोमा सरर हुइकिनुभन्दा जनताको लागि एम्बुलेन्स अनेकौ गुणा महत्वपूर्ण र अर्थपूर्ण छ ।’ गाउँपालिका अध्यक्ष बञ्जरा भन्छन् । “साथीहरुले जनताको काम गर्नका लागि गाडी किन्न सल्लाह दिएकै हो । गाडी किनेर मलाई चर्चामा आउनु छैन, स्कारपीयो चढ्न मन छैन । जनताको स्वास्थ्य संवेदनशिलतामा ध्यान छ ।”
गाउँपालिकाले ६ वडाका लागि एक-एक वटा मोटरसाइकल र गाउँपालिकामा ५ वटा मोटरसाइकल खरीद गरेको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई मोटरसाइकलबाटै आवश्यक परेको खण्डमा गाउँपालिकाका कर्मचारीबाट आवत–जावत गराइने गरिएको गाउँपालिकाले जनाएको छ ।
दुई नगरपालिका, आठ गाउँपालिका रहेको खोटाङमा बराहपोखरी गाउँपालिकासहित, केपिलासगढी गाउँपालिका, साकेला गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिकाले गाडी खरीद गरेको देखिन्दैन ।