१५ चैत्र २०८०, बिहीबार

बुटवल कोरोना अस्पतालमा दुईको निधन

chitwan corona death
फाइल फोटो

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका लागि भर्ना गरिएका कपिलवस्तुका दुई कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचारार्थ कपिलवस्तुका २५ वर्षीय र ४२ वर्षीय पुरुषको गएराति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिनुभयो ।

मृत्यु भएकामध्ये कृष्णनगर नगरपालिका­१० का २५ वर्षीय युवकलाई भने गए राति नै करिब १२ बजे कोरोना विशेष अस्पतालमा गम्भीर अवस्थामा ल्याइएकामा उपचारकै क्रममा राति २ बजे मृत्यु भएको डा खनालले जानकारी दिनुभयो । उनलाई कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिएकाले सोहीअनुसार उपचार हुँदै गर्दा कोरोना सङ्क्रमणको पिसीआर परीक्षण नै गर्न नपाउँदै मृत्यु भएको उहाँले बताउनुभयो ।

कोरोना भाइरस सङ्क्रमणको लक्षणका आधारमा साउन २५ गते अस्पतालमा भर्ना भएका कपिलवस्तु नगरपालिका­२ का ४२ वर्षीय पुरुषको सोही दिन नै पिसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । उनको स्वास्थ्य अवस्था गम्भीर देखिएपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार हुँदै गर्दा मृत्यु भएको डा खनालले जानकारी दिनुभयो ।

मृतक दुबैको शव दाहसंस्कारका लागि अस्पतालको तर्फबाट प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा जानकारी गराइसकिएको समेत डा खनालले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण पुष्टि भएका पुरुषको नेपाली सेनाले ‘प्रोटोकल’ अनुसार गर्ने र अर्का युवकको भने प्रदेश सरकारको निर्णय अनुसार हुने उहाँले बताउनुभयो ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका स्वास्थ्य निर्देशक डा उमाशङ्कर चौधरीले मृतकको दाहसंस्कारका लागि प्रशासनले प्रक्रियाअनुसार नै गर्ने बताउनुभयो । उहाँले सङ्क्रमण पुष्टि भई नसकेका मृतकका पनि स्वाब परीक्षणका लागि पठाइएको र रिपोर्ट आएपछि दाहसंस्कार प्रक्रिया अघि बढाइने बताउनुभयो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले मृतकको बारेमा विस्तत विवरण आएपछि निजको परिवारको चाहनाअनुसार दाहसंस्कारका कहाँ गर्ने भनी निर्णय हुने बताउनुभयो । सङ्क्रमितको हकमा भने दाहसंस्कार जहाँ गरेपनि सरकारको ‘प्रोटोकल’ अनुसार हुने बताउनुभयो ।