२१ बैशाख २०८२, आईतवार

पाँच हजारले लियो ईश्वर बस्नेतको ज्यान, संलग्न सबै पक्राउ

arrest rolpa

जिल्ला प्रहरी कार्यालय रोल्पाले कुटपिट गरी मार्ने १४ जनालाई नियन्त्रणमा लिएको छ । रुन्टीगढि गाउँपालिका– ६ भनझ्याङ खोलामा सालडाँडा बस्ने २४ वर्षीय ईश्वर बस्नेतको कुटपिटबाट मृत्यु भएको हो ।

साउन १६ गते दाङको घोरहीबाट घर आउँदै गरेका रोल्पाको रुन्टीगढि गाउँपालिका–६ सालवाङका ५६ वर्षीय गोठे बुढा लुटिए । गोठे बुढा साँझको ६ः३० बजेको समयमा रुन्टीगढि गाउँपालिका–६ भन्ज्याङ खोलामा लुटिएका हुन् ।

गोठे बुढालाई चिनेकै स्थानीय ईश्वर बस्नेतले लुटर भागेका थिए । २४ वर्षीय ईश्वरले गोठे बुढाको ५ हजार रुपैयाँ नगद हातमा लगाएको घडी लुटेको प्रहरीले जनाएको छ ।

गोठे बुढालाई लुटपाट गरेका उनै ईश्वरको १७ गते बिहान १० बजेको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले स्थानीय १४ जनाको समूहले बस्नेतलाई कुटपिट गरेपछि घाईते उनको उपचारको क्रममा मृत्यु भएको बताए । ५ हजार र घडी लुटपाट गर्दा ईश्वर बस्नेतले ज्यान गुमाउनुपरेको खड्काले बताए ।

१४ जनाको समूहको कुटपिटपछि बस्नेतको ज्यान गएको खड्काको भनाइ छ । बस्नेतको हत्यामा संलग्न १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लुटिएपछि गाउँलेलाई खबर गरे गोठे बुढाले

आफू लुटिएपछि गोठे बुढाले स्थानीयलाई खबर गरे पश्चात १४ जनाको समूहले राती १ बजेको समयमा बस्नेतको घरमा गई ढोका खोल्नुहोस् भनि ढोका ढक्ढकाउँदा बस्नेत घरको झ्यालबाट हामफालि भाग्ने क्रममा घर नजिकै १४ जनाको समूहले छोपी कुटपिट गर्दा बस्नेत घाइते भएका थिए ।

सोही क्रममा उनी घाइते भए । घाइते अवस्थामा रहेका ईश्वरलाई झनै स्थानीय (१४ जनाको समूह) ले कुटपिट गरे । अवस्था गम्भीर भएपछि तत्कालै ईश्वरलाई डुब्रीङ स्वास्थ्य चौकी लगियो ।

घाइते बस्नेतलाई शनिबार बिहान ६ बजेको समयमा स्वास्थ्य चौकी डुब्रीङ रोल्पामा ल्याई सामान्य उपचार गराई थप उपचारको लागि दाङतर्फ लैजाने क्रममा रुन्टीगढि गाउँपालिका–६ भनझ्याङ खोला नजिक बस्नेतको मृत्यु भएको थियो ।

ईश्वरको मृत्यु भएको खबर शनिबार बिहान १० बजे पाएको र खबर प्राप्त हुनासाथ प्रहरीले घटनामा संलग्न ६ जनालाई नियन्त्रणमा लिएको थियो । अन्य ८ जना फरार रहेका थिए ।

प्रहरीले घटनाबारे थाहा पाएलगत्तै घटनामा संलग्न ६ जनालाई सुरुमा नियन्त्रणमा लिएको थियो । फरार ८ जना शनिबार ४ बजेको समयमा भन्ज्याङ खोलामा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ परेको खड्काले बताए ।

पक्राउ पर्नेहरुको नामावली (रुन्टीगढि गाउँपालिका–६ सालवाङका स्थानीय हुन् सबै ।)

१. बर्ष ३९ को भिम बहादुर बस्नेत
२. बर्ष ३३ को झुपलाल बुढा
३. बर्ष ३९ को प्रेम बहादुर बुढाथोकी
४. बर्ष ३५ को चेतलाल साहु
५. बर्ष ३९ को चन्द्रलाल रोका
६. वर्ष २८ को दिल बहादुर रोका
७. बर्ष २२ को टोपेन्द्र साहु रोका
८. बर्ष ३१ को धनसिंह बुढाथोकी रोका
९. बर्ष २४ को कमल बस्नेत
१०. बर्ष १८ को प्रकाश बुढा
११. बर्ष २० को ठगेन्द्र बुढा
१२. बर्ष २० को प्रेम बुढा
१३. बर्ष २५ को तिल बहादुर चलाउने
१४ बर्ष ३५ को हिरा बहादुर बुढाथोकी