१६ चैत्र २०८०, शुक्रबार

दैलेखका क्वारेनटाइन खाली हुँदै गएपनी समुदायमा बढ्दै घट्दै कोरोना

corana lab Dailekh 1

विश्वभर कोरोनाको सङ्क्रमण बढ्दै गएपछि विश्व स्वास्थ्य सङ्गठनले नेपाल पनि अति उच्च जोखिममा रहेको बताएको हो । त्यस्पछी नेपाल सरकारले देशलाई चैत्र ११ गतेबाट ७७ वटै जिल्ला लकडाउन गर्‍यो । लकडाउनको केही समय सम्म नेपालमा कोरोनाको सङ्क्रमण कमै मात्रामा देखियो ।

दैलेख जिल्लाबाट बाहिरी देशमा काम गर्नकै लागि जानेको सङ्ख्या यकिन नभएकै कारण सरकारले लकडाउन गरेपछी लुकिछिपी फर्कनेका कारण अवस्था जटिल बन्दै गएको थियो । सबै स्थानीय पालिकाले समन्वय गर्न नसक्दा अवस्था भयावह हुँदै गएको थियो ।

जिल्ला प्रशासन कार्यालय दैलेखले कोरोनाको संक्रमण धेरै रहेकोले निषेधाज्ञा समेत जारी गर्नुपरेको थियो । ‘कतिपय नागरिकहरू’ हाल दैलेखलाई कोरोनाको केन्द्र भन्न पनि पछि पर्दैनन् ।

दैलेखमा लकडाउनको समयमा मात्र १५ हजार ४८ जना भित्रिएका छन् । बाहिरबाट भित्रिएका नागरिकहरूमा कोरोना पोजेटिभ देखिएको र उनीहरू मध्ये धेरै जनाले कोरोना जितेर घर फर्किसकेका छन् । प्रशासने करिब ३ हप्ता सम्म निषेधाज्ञा जारी राखे पनि निषेधाज्ञामा खुकुलो हुनु र नागरिकले निषेधाज्ञाको पालन नगर्नुले कोरोना नियन्त्रण बाहिर समुदायमा फैलिएको छ ।

बाहिरबाट भित्रिएका नागरिकहरु घटे सँगै दैलेखमा कोरोना पोजेटिभको सङ्ख्या घटेको थियो । तर कोरोना भाइरस समुदायमा फैलिएको थाहा नै भएन हाल समुदायमा कोरोना परीक्षण गर्दा फेरी सङ्क्रमितको सङ्ख्या उकालो लाग्दै गएको छ ।

कोरोनाको संक्रमण बढ्दै जान थाले पछि प्रशासनले एक सूचना निकाल्दै बर्षौ देखि सञ्चालन हुँदै आएको बर्षे मेला (लाखे नाच) लगायत सबै किसिमका मेलाहरू बन्द गर्ने निर्देशन दिएको छ । यस महामारीबाट सजग र सुरक्षित रहनको लागि नागरिकले घर बाहिर निस्कँदा अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने सुझाव दिएको छ ।

त्यस्तै कार्यालयमा हुने अति आवश्यक काम बाहेक सबै काम बन्द गरेको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी इन्द्र बहादुर क्षेत्रीले जनै पुर्णीमामा लाग्ने महावु मेलामा समेत गाडी लिन रोक लगाएको बताए ।

जिल्लामा निर्माण गरिएको आइसोलेसन समेत बर्सातको समयमा सामान्य झरी सम्म थेग्न सकेका छैनन् । भौतिक संरचना नभएको कारण बाहिरबाट आएका नागरिकलाई विभिन्न विद्यालयमा राखिएको थियो ।

उनीहरू विद्यालयबाट सामान किन्नकै लागि बाहिर पैसा पठाउने तथा आफै गएर सामान किन्दा कोरोनाको सङ्क्रमण समुदायमा फैलिएको जानकारहरूले बताउने गरेका छन् ।

जिल्लामा निर्माण गरिएको पीसिआर मेसिनले कोरोना परीक्षण गरिरहे पनि आवश्यक जनशक्ति छैनन् । दुइजनाले मात्र ल्याब धानेका कारण कोरोनाको परीक्षण दर बढाउन नसकिएको पीसिआर ल्याब तथा कोभिड –१९ दैलेखका ल्याब इन्चार्ज शङ्कर शाहीले बताए । उनका अनुसार जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बिस्तारै घट्दै गएको र समुदायमा परीक्षण गर्दो दर फेरी बढेको हो ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार साउन १६ गते सम्ममा जिल्लाको तत्थाङ्कमा कुल सङ्क्रमितको सङ्ख्या ९ सय ३० जना रहेको र जस मध्ये ८ सय ४१ जनाले कोरोना जितेर घर फर्केका छन् । जिल्लाका ११ वटै स्थानीय तहमा जम्मा ९ हजार २ सय १३ क्वारेनटाइन बेड छन् ।

क्वारेन्टिन खालि हुदै गएपनि कोरोना सङ्क्रमण भने समुदायका नागरिकलाई देखिन थालेको छ ।हाल क्वारेन्टिनमा जम्मा ५६ जना रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।

हाल सम्म जिल्लाभरबाट १३ हजार २ सय ४२ जनाको आर डि टी परीक्षण भएकोमा ३ सय ४० जना पोजेटिभ देखिएको तथा ५ हजार ७ सय १४ जनाको स्वाब सङ्कलन गरेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका खोप अधिकृत थीर प्रसाद रेग्मीले जानकारी दिए ।

कृष्णप्रसाद अधिकारी / दैलेख