
इजरायलमा हमासको आक्रमणमा मारिएका १० नेपाली विद्यार्थीमध्ये थप तीनजनाको शव पहिचान भएको छ ।
इजरायलस्थित नेपाली दूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएका पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव पहिचान भएको हो ।
योसँगै उक्त आक्रमणमा मारिएका आठ विद्यार्थीको शव पहिचान भएको छ । बाँकी दुई जनाको शव पहिचानको क्रममा रहेको दूतावासले जनाएको छ ।
इजरायल सरकारले उपलब्ध सम्पूर्ण संयन्त्रको प्रयोग गरी सम्पर्कविहीन भएका विपिन जोशीको खोजी जारी रहेको पनि दूतावासले जनाएको छ । आक्रमणमा घाइते भएकामध्ये दुई जनाको इजरालयमै उपचार भइरहेको छ ।
लेबनानस्थित राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सैनिक घाइते
यसैबीच इजरायली सेना र लेबनानको हिजबुल्लाह समूहबीचको द्वन्द्वका क्रममा लेबनानमा तैनाथ एक नेपाली शान्ति सैनिक घाइते भएका छन् ।
लेबनानस्थित नेपाली सैनिक रहेको संयुक्त राष्ट्रसंघीय पोस्टनजिक रकेटको सेल खस्दा ती सैनिक घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
घाइते सैनिकको नाम भने खुलाइएको छैन । उक्त सेलको टुक्रा बंकरमा रहेका ती शान्ति सैनिकको पेट र पाखुरामा लागेको थियो । घाइतेको हाल नाकुरास्थित शान्ति मिसनको अस्पतालमा उपचार भइरहेको छ । हाल उनको अवस्था सामान्य छ । त्यहाँस्थित अन्य नेपाली शान्ति सैनिक सकुशल रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
लेबनानमा संयुक्त राष्ट्रसंघीय अन्तरिम फौजमा डेपुटी कमान्डर र अन्य अधिकृत कर्मचारी गरी ८७४ नेपाली शान्ति सैनिक कार्यरत छन् । इजरायल र हमासबीच युद्ध जारी रहेकै बेला इजरायलको उत्तरी क्षेत्रमा पनि हिजबुल्लाह र इजरायली सेनाबीच द्वन्द्व भइरहेका छन् । शान्ति मिसनमा भएको प्रहारमा कुन पक्ष संलग्न छ भनेर स्पष्ट भएको छैन ।