१८ बैशाख २०८१, मंगलवार

कांग्रेसभित्र शुद्धीकरण गर्ने बेला आएको छ : महामन्त्री थापा

Gagan Thapa

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका जो कोहीलाई पनि कारबाही गर्नबाट पछि हट्नु नहुने बताएका छन्। ​

बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस पार्टीबाट नाम जोडिएका नेता बालकृष्ण खाँणलाई पार्टीले तत्काल निलम्बन गर्नुपर्ने माग गरे।

अनुसन्धानमा पार्टी जोडिनु नहुने र अनुसन्धानबाट दोषी ठहरिए सबैलाई कारबाही हुनुपर्ने उनको भनाइ छ। महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रबिरुद्धको अपराध भएको उल्लेख गरे।

उनले कुनै पनि पदमा बसेको व्यक्ति अभियोग लागिसकेपछि निर्दोष नहुन्जेलसम्म स्वतः निलम्बनमा पर्ने बताए। उनले पार्टीको बैठकमा यसबारेमा छलफल भए पनि केही नेताहरूले पार्टीको परम्परा नरहेको भन्दै पन्छिन खोजेकाले परम्परा तोडेर भए पनि निलम्बन गर्न आवश्यक रहेको उल्लेख गरे।

गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु नहुने उनको तर्क थियो। उनले पार्टीका नेताहरू भ्रष्टाचारी भए पनि पार्टी नै भ्रष्टाचारी हो भन्न नमिल्ने जिकिर गरे।

महामन्त्री थापाले लोक रिझ्याइँको राजनीति हाबी भएको भन्दै मानिसलाई उचाल्ने काम भइरहेको बताए। उनले काँग्रेसलाई अब नेताबाट नागरिकमा फर्काउनुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरे।

‘अनुहारमा दाग लागेका बेला ऐना पुछेर समस्या समाधान हुँदैन, पार्टीभित्र शुद्धीकरणका लागि काम गर्ने बेला आएको छ, यसमा प्रजातान्त्रिक विचार समाजको पनि साथ र सहयोग आवश्यक पर्छ, समाजले कांग्रेसको शुद्धीकराणका लागि आलोचनात्मक दबाब दिनुपर्छ”–उनले भने।

निर्वाचनअघि सरकारमा जानकै लागि गठबन्धन गर्नु गल्ती भएको स्वीकार गर्दै महामन्त्री थापाले त्यसलाई रोक्न नसक्नुसमेत कमजोरी भएको बताए। निर्वाचन परिणाम आइसकेपछि सत्ता समीकरण बनाउनु नै स्वाभाविक हुने उनको भनाइ थियो।