१८ बैशाख २०८१, मंगलवार

अहिलेको गठबन्धन सत्तामा मात्रै सीमित

kp oli
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले देशको परिस्थिति चिन्ताजनक रहेको धारणा राखेका छन् ।

काठमाडौंमा मदन-आश्रितको ३१औं स्मृति दिवसमा बुधबार आयोजित कार्यक्रममा उनले अहिलेको गठबन्धन सत्तामा मात्रै सीमित रहेको उल्लेख गरे । उनले अहिलेको सत्ता गठबन्धनले राजनीतिलाई हलुका रुपमा लिइरहेको दाबी गरे । नेपाली कांग्रेसलाई राजनीतिक संज्ञा दिन पनि मन नलाग्ने स्थितिमा पुगेको ओलीको भनाइ छ ।

‘अहिलेको राजनीतिलाई जसरी अत्यन्तै हल्काफुल्का ढंगले लिइएको छ, मानिसहरुको लिन खोजिरहेका छन्, खासगरी सत्ताधारीहरुले, सत्ताधारी गठबन्धनले त्यो दुःखद् कुरा हो । देशको परिस्थिति अत्यन्त गम्भीर छ । अत्यन्त जटिल छ । नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावा भन्या । कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छोडिसक्यो,’ ओलीले भने, ‘देश यस्तो गम्भीर परिस्थितिमा छ । एउटा लामो इतिहास बोकेको नेपाली कांग्रेस किंकर्तव्य विमुख, भोलि कहाँ जाने केही थाहा छैन भन्ने जस्तै छ, आज कसरी देशलाई सही बाटोमा लैजाने सोच्ने अवस्थामा छैन ।’

उनले कांग्रेस किंकर्तव्य विमुख भएको आरोप लगाए । उनले अहिलेको गठबन्धन सत्ता र सरकार प्राप्त गर्न मात्रै गरिएको गठबन्धन भएको दाबी गरे । वर्तमान गठबन्धन नीति, कार्यक्रम, उद्देश्यविहीन गठबन्धन भएको दाबी पनि गरे ।

‘हामी कसैसँग कहिल्यै मिल्दैनौं भन्ने होइन तर सत्ता गठनका लागि मिल्ने कुरा हुँदैन, देश, जनता, सुशासन, परिवर्तनका लागि हामी कोहीसँग मिल्न सक्छौं,’ एमाले अध्यक्ष ओलीले भने, ‘अहिलेको गठबन्धन सत्ता, सरकार प्राप्त गर्न गरिएको गठबन्धन हो, सत्ताधारी हो । नीति, कार्यक्रम, उद्देश्यबिहीन गठबन्धन हो, कार्यक्रमविहीन गठबन्धन हो ।’

अध्यक्ष ओलीले राजनीति भयावह अवस्थाबाट गुज्रिरहेको दाबी गरे । उनले अहिलेको सत्ता गठबन्धन टिक्छ कि जान्छ भन्नेमा मात्रै सीमित रहेको दाबी गरे ।

    सम्बन्धित समाचार...