
नेकपा एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादी पार्टीको अस्तित्व एक बर्षमै संकटमा परेको छ । पार्टी जीवनलाई तल्लो तहसम्म पुर्याउन नपाउँदै अध्यक्ष माधवकुमार नेपालले बाम ध्रुविकरणका नाममा माओवादीसँग एकीकरण गर्न लागेका हुन् ।
पार्टी जन्मिएको वर्ष दिन कट्न नपाउँदै शुरु भएको यो कसरतलाई विश्लेषकले कमजोर मानसिकता र शक्ति हत्याउने हुटहुटीको रुपमा अर्थ्याएका छन् ।
नेकपा एमालेबाट अलग्गिएर नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको २०७९ भदौ ९ गते हो ।अलग्गै दल बनाउँदा माधवकुमार नेपालले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय र एकलौटी गरेको, वैचारिक मान्यतामा विचलित भएको आरोप लगाएका थिए ।
त्यसपछि नयाँ दल बनाएर उनी र उनको समुह सत्तासँग नजिकिँयो । तर अहिले एक बर्ष नपुग्दै एकीकृत समाजवादीलाई माओवादी केन्द्रसँग जोड्न थालिएको छ ।
स्थानीय तहको निर्वाचनमा कमजोर जनमत तथा पार्टीको अनिश्चित भविश्यको आकलन त्यसको एउटा कारण हो । तर नेपाल भने बाम ध्रुविकरणको कसरत भन्छन् ।
आसन्न निर्वाचनमा एउटै घोषणापत्र र त्यस लगत्तै एकता गर्न कार्यदल बनाउने सहमति माओवादी केन्द्र र एकीकृत समाजवादीबीच भैसकेको छ। एमालेबाहेकको बाम ध्रुविकरणका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको दौडधुप चलिरहेकै छ ।
पार्टी संयन्त्र चुस्त हुन नपाउँदै एकीकृत समाजवादीले एकताको लागि दौडधुप गर्नुलाई अस्तित्व रक्षाको उपायका रुपमा बुझ्न सकिन्छ ।
माओवादीको प्रयास ठूलो कम्युनिष्ट शक्ति बन्ने हो । त्यसमा भर्खरै नयाँ पार्टी गठन गरेका बाबुराम भट्टराई र राष्ट्रिय एकता अभियान चलाईरहेको बामदेव गौतम समेत मिसिने निश्चित जस्तै भएको छ ।
एकताको यो प्रयासलाई कसरी बुझ्ने ? अहिलेको सत्ता गठबन्धनलाई उपयोग गर्दै शक्ति बढाउने रणनीतिमा माओवादी केन्द्र र एकीकृत समाजवादी छन् ।
त्यसले सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेससँग शक्ति बाँडफाँटमा मोलमोलाईमा सघाउने र अर्कोतिर एमालेको हैसियत कमजोर बनाउन सघाउन पुग्ने बुझाई दुबै दलको देखिन्छ । त्यो कति सार्थक बन्छ दाहाल-नेपाल समिकरण र कार्यशैलीमा निर्भर हुनेछ ।